
गोरखा, साउन ८ – नेपाल कराते महासंघ गोरखाले आयोजना गरेको सम्मान कार्यक्रममा श्रीलंकामा सम्पन्न ९औं दक्षिण एशियाली कराँते प्रतियोगिता २०२५ मा पदक जितेका गोरखाका खेलाडीहरूलाई सम्मान गरिएको छ। कार्यक्रम रंगशाला कवर्ड हल, गोरखामा आयोजना गरिएको थियो। सम्मान कार्यक्रम अघि खेलाडीहरूलाई बाजागाजा सहित गोरखा बजार परिक्रमा गराइएको थियो, जसमा खेलाडीहरूले नेपाली झन्डा बोकेर गौरवपूर्ण उपस्थित जनाएका थिए।
सम्मानित खेलाडीहरूमा सहिद लखन गाउँपालिका वडा नं. ७, बुकोटेका अर्पण थापा मगर र वडा नं. ६, धेरैडकी स्मृति गुरुङ रहेका छन्। अर्पण थापाले १६–१७ वर्षे उमेर समूह अन्तर्गत +७६ के.जी. तौल समूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जितेका थिए भने स्मृति गुरुङले U-21, +६८ के.जी. समूहमा कास्य पदक जितेकी थिइन्।
सोही अवसरमा, १५औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा पदक विजेता खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। सृष्टि श्रेष्ठ (वडा नं. ८, बुकोटे) ले ६० के.जी. समूहमा स्वर्ण पदक र अमृत राना मगर (वडा नं. ५, तातोपानी) ले ४२ के.जी. समूहमा कास्य पदक जितेका थिए।
सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगर लगायत अन्य अतिथिहरूको उपस्थितिमा खेलाडीहरूलाई प्रशंसा पत्र, दोसल्ला र पदकको प्रतीक स्वरूप सम्मान गरे । कार्यक्रमको सुरुवातमा पदक विजेता खेलाडीहरूलाई बाजागाजा सहित गोरखा बजार परिक्रमा गराइएको थियो। त्यसपछि आयोजित सम्मान समारोहमा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगरले खेलाडीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा शुभकामना दिँदै मेयर रानामगरले भने, “हाम्रो गोरखाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देखाएको सफलता गौरवको विषय हो। खेलकुदमा गरेको उत्कृष्ट योगदानले गोरखाको नाम उजागर गरेको छ। नगरपालिकाले यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्न सधैं तयार छ।”
नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष, कुटुम्ब रोधी घरका सञ्चालक तथा चर्चित गायक तथा सर्जक दिप सागर थापाको विशेष उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो। थापाले पदक विजेता खेलाडीहरूलाई बधाई दिँदै भने, “अर्पण थापा मगरसहित सबै खेलाडीहरू हाम्रो गाउँका गौरव हुन्। उनीहरूले केवल पदक मात्र जितेका छैनन्, अन्तर्राष्ट्रिय मञ्चमा देशको झन्डा फहराएका छन्।” थापा स्वयं स्वर्ण पदक विजेता अर्पण थापा मगरका पिता पनि हुनुहुन्छ। उनले स्थानीय युवा प्रतिभा पहिचान र प्रवर्द्धनमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै खेलकुद, संस्कृति र संगीतलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए।
यसैगरी, सम्मान कार्यक्रममा गोरखाका कराते प्रमुख प्रशिक्षक ग्याम्जो लामा, जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङ, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर र शहीद लखन गाउँपालिका–७, बुकोटका वडा अध्यक्ष शरण श्रेष्ठ समेत सहभागी थिए।
विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न यस सम्मान समारोहले गोरखाली युवा खेलाडीहरूको मनोबल अभूतपूर्व रूपमा बढाएको छ। आयोजक नेपाल कराते महासंघले यस्ता कार्यक्रमले स्थानीय स्तरमा खेलकुदको विकास र प्रतिभा संरक्षणमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमले स्थानीय खेलाडीको मनोबल अभूतपूर्व रूपमा बढाएको आयोजक नेपाल कराते महासंघ गोरखाका अध्यक्ष राम बहादुर थापाले बताए । नेपाल कराते महासंघ गोरखाले यस्ता सम्मान कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक