काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सुधारसँगै मुलुकको सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा सुधार सम्भव हुने बताएका छन्।
सोमबार वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले वीर अस्पताललाई राज्यको प्राथमिकतामा राखी सुधार गरिने बताए। “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर हेर्न वीर अस्पताल हेरे पुग्छ,” मन्त्री पौडेलले भने, “वीर सुधार्न सकियो भने स्वास्थ्य क्षेत्र सुधारिन्छ। त्यसैले आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्मको प्रयास गर्नेछ।”
उनले स्वास्थ्य क्षेत्रमा हालसम्म केही सुधार भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे। “स्वास्थ्य क्षेत्र सुधार नभएको होइन, तर पूर्ण रूपमा सुधार हुन सकेको छैन,” उनले भने, “अब सबै गम्भीर बन्नुपर्छ।”
मन्त्री पौडेलले भदौ महिनासम्म सबै सरकारी अस्पतालहरूमा बीमा रकमको बाँकी भुक्तानी मिलाउने प्रयास भइरहेको जानकारी पनि दिए।
समारोहमा अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए। उनका अनुसार अस्पतालको बहिरङ्ग सेवाबाट (नयाँ तथा पुराना गरी) ६ लाख ४७ हजार २१५ जनाले सेवा लिएका छन्। आकस्मिक सेवा लिनेको संख्या ३५ हजार १४१ र अन्तरङ्ग सेवामा २१ हजार २२४ जना पुगेका छन्। शल्यक्रिया सेवा भने २६ हजार ४४६ जनाले लिएका थिए।
उनका अनुसार अस्पतालमा हाल दैनिक दुई हजार ५०० भन्दा बढी बिरामीले सेवा लिने गरेका छन्। वीर अस्पतालमा अहिले बहुविशिष्टिकृत ७२ वटा सघन उपचार (आईसीयू) श्यया र ३८ वटा ‘हाइ–डिपेन्डेन्सी युनिट’ छन्।
डा. शर्माले वीर अस्पताललाई देशकै गौरवको संस्थाका रूपमा परिभाषित गर्दै यसलाई केन्द्रीय रिफरल र अध्ययन अनुसन्धान केन्द्र बनाउन सबैको एकता आवश्यक रहेको बताए। “अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, बीमा बोर्डबाट समयमै भुक्तानी नहुनु, कर्मचारीको उच्च सरुवा दर र प्राविधिक दरबन्दीको अभावले अस्पतालमा थप चुनौती सिर्जना भएको छ,” उनले भने।
वि.सं. १९४६ साल साउन १२ गते १५ श्ययाबाट सुरु भएको यो अस्पतालको हाल स्वीकृत श्यया क्षमता ९६० रहेको छ। अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग र तीन वटा क्लिनिकल युनिट (आँखा स्वास्थ्य, स्त्रीरोग, मानसिक रोग)मार्फत सेवा दिँदै आएको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक