काठमाडौं, साउन १३: पशुपति मन्दिर क्षेत्र यतिबेला अध्यात्म, भक्ति र सामाजिक सेवाको संगम बनेको छ। मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा साउन १ गतेदेखि जारी ‘श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ–२०८२’ तेह्रौं दिनमा प्रवेश गरेको छ।
महायज्ञस्थलमा निर्माण गरिएको ५१ फिट अग्लो शिवलिङ्ग र त्यसमा जडान गरिएको डेढ करोड रुद्राक्ष भक्तजनहरूको मुख्य आकर्षण बनेको छ। दर्शनार्थ आएका श्रद्धालुहरूका अनुसार उक्त शिवलिङ्गको दर्शनले अद्भुत आध्यात्मिक ऊर्जा प्राप्त हुने अनुभूति भइरहेको छ।

महायज्ञको विशेष अवसरमा भोली साउन १४ गते बिहान ७ बजे काठमाडौंको मैतीदेवीबाट बृहत् कलश यात्रा सुरु हुने छ। सोही दिन कलश यात्रापछि बाचनप्रविण पण्डित श्री दिनबन्दु पोखरेलद्वारा द्वारा कथा वाचनको औपचारिक प्रारम्भ गरिने कार्यक्रम तय गरिएको छ।
आज ऐतिहासिक श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञमा परम पूज्य १००८ महामण्डलेश्वर श्री कालीदास बाबा (काली बाबा) को आगमनले महायज्ञलाई थप रौनक बनाएको थियो ।

हालसम्म सागर आचार्य, शीतलकृष्ण महाराज र आदियोगी गौतम स्वामीजस्ता वाचकहरूले प्रवचन दिइसकेका छन्। दुबै गुरुदेवलाई हालै अभिनन्दनसहित विदाई गरिएको छ ।
आयोजकका अनुसार महायज्ञमा दैनिक हजारौं श्रद्धालुहरूको उपस्थिति रहेको छ, जसमा काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाबाट आएका भक्तजनको संख्यामा समेत उल्लेख्य वृद्धि भइरहेको छ।

महायज्ञमा दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सत्रमा कथा वाचन तथा धार्मिक प्रवचनहरू सञ्चालन भइरहेको छ। आगामी दिनमा अमृत शरण देवाचार्य, राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डेय लगायतका वाचकहरू प्रस्तुत हुनेछन्। भोलीदेखि पण्डित दिनबन्दु पोखरेल ज्यूको प्रवचन सुरु हुने भएको हो। कथा वाचन कार्यक्रम बिहान ११:०० बजेबाट बेलुका ५:०० बजेसम्म सञ्चालन हुनेछ।

महायज्ञमा दैनिक रूपमा भजन, कीर्तन, ध्यान साधना, विशिष्ट पूजापाठका कार्यक्रमहरू भइरहेका छन्। सरोज खनाल, दिपा श्री निरौला, रेखा थापा, रमेश उप्रेती, नम्रता सापकोटा, निता ढुङ्गाना, सलोन बस्नेत, राधिका हमाल, थानेश्वर गौतम, पुर्णकला बिसी, भुमिका गिरी, प्रोशेष पाण्डे, राता मकै, भटभटे माईला, घिरौले, शान्ति शाही, काजी बा, ललित राजवंशीलगायत चर्चित कलाकारहरूले भक्तिपरक सांगीतिक प्रस्तुति दिएका छन्।
महायज्ञमा महिलाहरूको सहभागिता उल्लेखनीय देखिएको छ। यही सन्दर्भमा आयोजकले भदौ १ गतेदेखि तीज महामहोत्सव आयोजना गर्ने तयारी गरेको छ। सो अवसरमा धार्मिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका १०८ महिलालाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ।

महायज्ञमार्फत संकलित सहयोग रकम ललितपुरस्थित मामाघर अनाथालय र भक्तपुरस्थित ज्येष्ठ नागरिक आश्रमको विकास तथा विस्तारमा लगानी गरिने फाउण्डेसनले जनाएको छ। मामाघर आश्रममा अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क गास, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा सेवा दिइँदै आएको छ। यस्तै, ज्येष्ठ नागरिक आश्रममा बेसहारा वृद्धवृद्धालाई सम्मानपूर्वक आवास र हेरचाह सेवा प्रदान गरिँदै आएको छ।

महायज्ञका संकल्पकर्ता तथा फाउण्डेसनका संस्थापक अध्यक्ष बालयोगेश्वर विजयकृष्ण मुर्ती का अनुसार, “धर्म, संस्कार र सामाजिक सेवाको समन्वयमार्फत हामी मानव जीवनको सार्थकता खोजिरहेका छौं। ५१ फिट शिवलिङ्ग, करोडौं रुद्राक्ष, भक्तजनको समर्पण र कलाकारहरूको उत्साहले यो महायज्ञ अध्यात्म, धर्म र सेवाको अनुपम संगम बनेको छ।”
कार्यक्रम व्यवस्थापनमा कोष खड्का, दीप काफ्ले, नेत्रपाणी बाँस्तोला, मालती पराजुली, प्रदीपजंग थापा, विष्णु पौडेल लगायतको टोली सक्रिय रूपमा कार्यरत रहेको छ।

-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री