गोरखा जिल्लाको भीमसेनथापा–८ महादेवटारस्थित श्री जागेश्वर माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती–२०८२ भव्य रूपमा मनाउने तयारी सम्पन्न गरेको छ। पाँच दशकको शैक्षिक यात्रामा स्थानीय समुदायलाई गुणस्तरीय शिक्षा, योग्य जनशक्ति उत्पादन र समाजको शैक्षिक स्तर उकास्न महत्वपूर्ण योगदान गरेको यस विद्यालयले स्वर्ण महोत्सवलाई इतिहास, संस्कृति, उपलब्धि र भविष्यदृष्टि समेटिएको साझा उत्सवका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
स्वर्ण महोत्सवको सबैभन्दा ठूलो आकर्षणका रूपमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे प्रमुख अतिथीका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिले पुष्टि गरेको छ। प्रदेश सरकारको नेतृत्व उपस्थित हुँदा विद्यालयको ५० वर्षे योगदानलाई औपचारिक सम्मान प्राप्त हुने तथा आगामी शैक्षिक प्रवर्द्धन, पूर्वाधार विस्तार र शैक्षिक योजनाहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। स्थानीय स्तरमा स्थापित विद्यालयलाई प्रदेशस्तरको नेतृत्वसँग जोड्नु नै शिक्षा, समाज र सरकारी समन्वयलाई सशक्त रूपले एकीकृत गर्ने कदम भएको विद्यालय पक्षको भनाइ छ।
महोत्सव मंसिर २६ देखि पुष १ सम्म संचालन हुने छ। विद्यालयको ऐतिहासिक योगदानलाई रङ्गीन र उत्साहपूर्ण बनाउने उद्देश्यले विविध कार्यक्रम समेटिएको छ। महोत्सवमा भूमिका–सहितको सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन, खेलकुद प्रतियोगिता, विद्यालय इतिहास प्रदर्शनी, पूर्वविद्यार्थी भेटघाट, सम्मान कार्यक्रम र स्मारिका विमोचन जस्ता औपचारिकदेखि मनोरञ्जनात्मक कार्यक्रमहरू संचालन हुनेछन्।
विशेष आकर्षणका रूपमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमसमेत सार्वजनिक गरिएको छ। कार्यक्रममा चिजा तामाङ, सुमन परियार, प्रेम अर्याल, मधु रसाइली, सचिन भट्टराई, सरुना देवाडी र जादुगर अमिश उपरकोटी सहभागी हुनेछन्। कलाकारहरूको उपस्थिति र सांस्कृतिक प्रस्तुति माध्यमबाट विद्यालय परिषर संगीत, कला, हास्य र जादुको रंगमा रंगिने अपेक्षा गरिएको छ। स्थानीय विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्ने र स्थानीय संस्कृति उजिल्याउने उद्देश्यले विद्यार्थीहरूकै समूह प्रस्तुति पनि महोत्सवको विशेष भाग हुनेछ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसि भट्ट र प्रधानाध्यापक यदुनाथ सापकोटाले संयुक्त अपिल जारी गर्दै सम्पूर्ण अभिभावक, पूर्वविद्यार्थी, स्थानीय समाज, उद्योगी–व्यवसायी र शुभेच्छुकहरूलाई महोत्सवमा सक्रिय सहभागितासहित सहयोग गर्न आग्रह गरेका छन्। विद्यालयले महोत्सवलाई केवल उत्सव नभई भविष्यका शैक्षिक लक्ष्य, पूर्वाधार विकास र सामुदायिक एकताको ऐतिहासिक मोडका रूपमै लिएको स्पष्ट पारेका छन्।
स्थानीय समुदायको बलियो साथ, पूर्वविद्यार्थीहरूको प्रतिबद्ध भावना र प्रदेश नेतृत्वको विशेष उपस्थितिसहित मनाइने श्री जागेश्वर विद्यालयको स्वर्ण महोत्सव, शिक्षा, संस्कृति र पहिचानलाई एउटै मञ्चमा जोड्ने ऐतिहासिक उत्सव बन्ने निश्चित देखिन्छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति