काठमाडौं । इन्टरनेशनल नेपाली आर्टिस्ट्स सोसाइटी (इनास) नेपाल च्याप्टर र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल) बीच कलाकार तथा स्रष्टाहरूलाई लक्षित गर्दै स्वास्थ्य सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सन् २०२६ जनवरी १ गते सम्पन्न सम्झौतामा इनास नेपालका अध्यक्ष ऋषि लामिछाने र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका निर्देशक डा. प्रतिक्ष्या श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार केडीसी जनरल अस्पताल इनास नेपालको आधिकारिक स्वास्थ्य साझेदार रहनेछ।
एमओयू अनुसार इनास नेपालका सदस्य, उनीहरूका परिवार तथा सिफारिस प्राप्त व्यक्तिहरूले सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। भर्ना उपचार (आईपीडी) अन्तर्गत बेड तथा वार्ड शुल्कमा २५ प्रतिशत, ओपीडी तथा क्लिनिकल सेवामा १५ प्रतिशत छुट दिइनेछ। त्यस्तै प्रयोगशाला, रेडियोलोजी, विशेषज्ञ उपचार, फार्मेसी, फिजियोथेरापी तथा दन्त सेवाअन्तर्गत इम्प्लान्ट, क्लियर अलाइनर, ब्रेसेस, आरसिटी तथा कस्मेटिक सर्जरीमा ७ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि इनास नेपाल च्याप्टरका संरक्षक तथा एसिया संयोजक दयाराम पाण्डेले कला, संस्कृति र स्वास्थ्य क्षेत्रलाई जोड्ने यो सहकार्य उदाहरणीय भएको बताए। कलाकारको सिर्जनशीलता सुरक्षित राख्न स्वास्थ्य अत्यावश्यक रहेको उनको भनाइ थियो।
इनास नेपालका अध्यक्ष ऋषि लामिछानेले कलाकारहरूको स्वास्थ्य सुरक्षाका लागि सम्झौता ऐतिहासिक भएको बताए। निरन्तर यात्रा र व्यस्त सिर्जनात्मक जीवनशैलीमा रहेका कलाकारका लागि यो सहकार्यले भरोसा थपेको उनले उल्लेख गरे।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलाकार समुदायसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए। अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमल बहादुर रानाले सम्झौताले कलाकारमैत्री स्वास्थ्य सेवाको दीर्घकालीन आधार तयार गरेको बताए।
सम्झौतासँगै इनास नेपाल र कान्तिपुर डेन्टल हस्पिटलको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ। अस्पताल परिसरमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रमका संयोजक तथा इनास नेपालका सचिव प्राचीन पनेरुले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएको बताए। कार्यक्रममा इनास नेपालका पदाधिकारी, सदस्य कलाकार, चलचित्रकर्मी तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा इनास ग्लोबलका संरक्षक मिरा राणा, चलचित्र निर्देशक संघका अध्यक्ष जीवनराम पराजुली, चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का, कलाकार गजित बिष्टलगायतको उपस्थिति थियो। इनास नेपालले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति धन्यवाद व्यक्त गरेको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक