logo

बुधबार, फाल्गुन १२ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन १२ बुधबार

तीन दिनदेखि अस्पतालमा जेरी: यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था

तीन दिनदेखि अस्पतालमा जेरी: यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था


  • बुधबार, फाल्गुन १२ २०८२
  • 5.1K
    SHARES

    काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका बबिता बानियाँ ‘जेरी’ विगत तीन दिनदेखि अस्पतालमा उपचाररत छिन्। स्वास्थ्यमा एकाएक समस्या देखिएपछि उनी फागुन ११ गते सोमबार वसुन्धरास्थित ग्रिनसिटी अस्पताल पुगेकी थिइन्। अवस्था जटिल देखिएपछि सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो।

    अस्पताल जाँदै गरेको र भर्ना भएको जानकारी जेरीले सोमबार नै आफ्नो सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। तर, आफूलाई के समस्या भएको हो भन्नेबारे उनले खुलाएकी थिइनन्। यसबीच उनले अस्पतालबाटै केही तस्बिरहरू सार्वजनिक गरिरहेकी थिइन्।

    जेरीकी दिदी सुजना बानियाँका अनुसार उनको पाठेघरमा ट्युमर देखिएको थियो। ट्युमर पुष्टि भएपछि उनले पाँच–छ वटा अस्पतालमा परीक्षण गराएकी थिइन्। चिकित्सकहरूले समयमै शल्यक्रिया गरेर ट्युमर हटाउन सुझाव दिएका थिए। तर, कार्यव्यस्तताका कारण उपचार ढिलो हुँदै गएको थियो।

    सोमबार अचानक अत्यधिक समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण गर्दा अवस्था गम्भीर रहेको र पाठेघर नै निकाल्नुपर्ने अवस्था देखिएको दिदी सुजना बताउँछिन्। चिकित्सकको सल्लाहअनुसार आपतकालीन शल्यक्रिया गरी पाठेघर निकालिएको उनले जानकारी दिइन्।

    केही महिनादेखि जेरी अस्वस्थ रहँदै आएकी थिइन्। दुई–तीन महिनादेखि लगातार रक्तस्राव हुने र रोकिने समस्या देखिँदै आएको थियो। अस्पताल भर्ना हुनुअघि पनि उनी विभिन्न सांगीतिक कार्यक्रममा सक्रिय नै थिइन्।

    हाल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। उनी अहिले सामान्य अवस्थामा रहेकी र आफैं हिँडडुल गर्न सक्ने अवस्थामा पुगेकी दिदी सुजना बताउँछिन्। यद्यपि, छातीसम्बन्धी केही समस्या देखिएकाले उनलाई अझै एक–दुई दिन अस्पतालमै निगरानीमा राखिने भएको छ। डिस्चार्जपछि केही समय पूर्ण रूपमा आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

    करिब डेढ दशकदेखि दोहोरी गायन क्षेत्रमा सक्रिय जेरी एक वर्षअघि अध्यात्मतर्फ आकर्षित भएकी थिइन्। वैवाहिक जीवनमा दरार आएपछि उनी योगमार्गतर्फ लागेर ‘योगमाया सखी’ नामबाट परिचित बनेकी थिइन्। उनले २०८१ माघ २२ देखि ३० गतेसम्म नागार्जुन–१, रानीवनस्थित श्रीनागभूषण महादेव मन्दिर परिसरमा आयोजित ‘श्रीमद्भागवत महापुराण सप्ताह सत्संग ज्ञान महायज्ञ’ मा कथा वाचन गरेकी थिइन्। त्यसयता उनी कथावाचनमा पनि सक्रिय रहँदै आएकी छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech