काठमाडौं: एस दि हिमालय ट्रेकिङ कम्पनीले आफ्नो कम्पनी र सञ्चालकको नाम जोडेर केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै इमेजखबर डटकम लगायतका माध्यममा प्रकाशित ‘एससीइ द हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु’ शीर्षकको समाचार पूर्णतः असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पारेको हो।
कम्पनीका जनरल मेनेजर सुजन खत्रीद्वारा जारी विज्ञप्तिमा तथाकथित ‘नक्कली उद्धार प्रकरण’ मा सीआईबीले अनुसन्धान थालेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गरिएको छ। कम्पनीका अनुसार सम्बन्धित निकायसँग बुझ्दा त्यस्तो कुनै पनि अनुसन्धान वा उजुरी प्रक्रिया अगाडि नबढेको र स्वयं निकायहरू समेत यस विषयमा अनविज्ञ रहेको जानकारी प्राप्त भएको छ।
विज्ञप्तिमा उक्त समाचार राजनीतिक स्वार्थले प्रेरित भएको दाबी गरिएको छ। कम्पनीका सञ्चालक प्रेमकुमार खत्री आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस का तर्फबाट गोरखा क्षेत्र नं. १ बाट उम्मेदवार रहेका छन्।
विज्ञप्तिमा भनिएको छ, “विगत डेढ दशकदेखि ‘राजनीति सेवा हो’ भन्ने मूल मन्त्रका साथ सामाजिक कार्यमा सक्रिय सञ्चालक खत्रीको चरित्र हत्या गर्ने र आगामी निर्वाचनको नतिजालाई प्रभावित पार्ने दूषित मनसायले यस्ता नियोजित सामग्री सार्वजनिक गरिएका हुन्।”
कम्पनीले आफ्नो व्यावसायिक प्रतिष्ठा तथा उम्मेदवारको व्यक्तित्वमा आँच पु¥याउने तत्वहरूविरुद्ध कानुनी उपचारको प्रक्रिया अगाडि बढाइने जनाएको छ। साथै, पत्रकारिताको न्यूनतम मर्यादा ख्याल नगरी तथ्यहीन समाचार प्रकाशन गर्ने पक्षलाई कडा कारबाही गर्न माग गरिएको छ।
प्रेस विज्ञप्तिमार्फत कम्पनीले सम्पूर्ण शुभेच्छुक, मतदाता तथा आम नागरिकलाई यस्ता प्रायोजित र भ्रमपूर्ण समाचारको पछि नलाग्न र सत्य–तथ्य बुझेर मात्र धारणा बनाउन आग्रह गरेको छ।
यता, उम्मेदवार खत्रीले पनि भिडियो सन्देशमार्फत समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। “मेरो जीवन हिजो पनि खुला किताब थियो, आज पनि छ र भोलि पनि रहनेछ,” उनले भनेका छन्। उनले राजनीति पेशा नभई सेवा भएको धारणा राख्दै, चुनावको पूर्वसन्ध्यामा मतदातालाई भ्रमित पार्ने उद्देश्यले यस्तो दुस्साहस गरिएको आरोप लगाए।
साथै, आफ्नो १९ वर्षे व्यवसायिक जीवनमा कहिल्यै त्यस्ता गतिविधिमा संलग्न नभएको स्पष्ट पार्दै उनले मतदातालाई भ्रममा नपर्न र सक्रिय रूपमा आफ्नो पक्षमा लाग्न आह्वान गरेका छन्।

-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक