logo

सोमबार, फाल्गुन १७ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन १७ सोमबार

जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम

जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम


  • सोमबार, फाल्गुन १७ २०८२
  • 6K
    SHARES

    गोरखाको पहाडी भूगोलमा एउटा यस्तो नाम छ, जसलाई धेरैले पदभन्दा पहिला सेवाबाट चिन्छन्—उनी हुन् प्रेमकुमार खत्री। व्यवसायबाट आर्जित साधनलाई समाजमै फर्काउने अभ्यासका कारण खत्री गोरखामा सामाजिक रूपमा परिचित व्यक्तित्वका रूपमा स्थापित भएका छन्। उनका समर्थकहरूका अनुसार, “जहाँ संकट, त्यहाँ प्रेम” भन्ने वाक्यांश केवल नारामात्र नभई व्यवहारमा देखिएको पक्ष हो।

    आरुघाट–८, आरुपोखरीमा जन्मेर हुर्किएका ४१ वर्षीय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। युवावस्थामै पर्यटन व्यवसायमा प्रवेश गरेका उनले ऊर्जा र कृषि क्षेत्रमा समेत लगानी विस्तार गरेका छन्। २२ वर्षको उमेरदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनी व्यवसायिक सफलतासँगै सामाजिक दायित्व निर्वाह गर्नुपर्छ भन्ने धारणा राख्छन्।

    विपद्का बेला अग्रपंक्तिमा

    २०७२ सालको विनाशकारी गोरखा भूकम्पका बेला उनी राहत, उद्धार र पुनर्निर्माण अभियानमा सक्रिय देखिएका थिए। घरबारविहीन विपन्न परिवारका लागि ७९ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिइएको छ। भूकम्पपछिको समयमा खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सामग्री र पुनःस्थापनामा सहयोग पुर्‍याइएको उनका सहकर्मीहरू बताउँछन्।

    कोभिड–१९ महामारीका बेला पनि खत्रीको सक्रियता उल्लेखनीय रह्यो। जोखिमपूर्ण अवस्थामा एम्बुलेन्स, अक्सिजन सिलिन्डर र औषधिसहित दुर्गम बस्तीमा पुगेर सेवा उपलब्ध गराइएको जनाइएको छ। गोरखाका ११ वटै स्थानीय तहमा १३ वटा एम्बुलेन्स सहयोग गरिएको तथा ७ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना र आवश्यक उपकरण प्रदान गरिएको विवरण सार्वजनिक गरिएको छ। नियमित स्वास्थ्य शिविरमार्फत हजारौँ नागरिकले निःशुल्क जाँच तथा औषधि सेवा पाएको दाबी छ।

    शिक्षा, युवा र महिला सशक्तिकरणमा पहल

    शिक्षा क्षेत्रमा ३० हजारभन्दा बढी विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको बताइन्छ। आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म सहयोग उपलब्ध गराइएको छ। विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, भवन तथा छात्रावास निर्माणमार्फत ग्रामीण शैक्षिक पूर्वाधार सुदृढ पार्ने प्रयास गरिएको छ।

    महिला र युवाको सशक्तिकरणका क्षेत्रमा १५० भन्दा बढी महिला समूहलाई आयआर्जनका सामग्री सहयोग गरिएको तथा १०५ युवा क्लबलाई खेलकुद सामग्री र आर्थिक सहयोगमार्फत सकारात्मक गतिविधिमा जोडिएको जानकारी दिइएको छ। पञ्चेबाजा र खैजडी भजनजस्ता मौलिक सांस्कृतिक धरोहर संरक्षण तथा कफी खेती प्रवर्द्धनमार्फत स्वरोजगार सिर्जनामा जोड दिइएको छ।

    संस्थागत अभियान र राजनीतिक यात्रा

    “सेवामार्फत परिवर्तन सम्भव छ” भन्ने विश्वासका साथ उनले ‘सम्भव नेपाल’ अभियानमार्फत शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा संस्थागत ढंगले कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सामाजिक कामलाई व्यक्तिनिष्ठ नभई संस्थागत संरचनामा लैजानुपर्ने उनको धारणा छ।

    विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खत्रीले आरुघाटस्थित भिमोदय माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। हाल उनी नेपाली कांग्रेसका महासमिति सदस्य छन्। उनलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको छ।

    ३० भन्दा बढी देशको भ्रमण गरी त्यहाँको विकास अनुभव अध्ययन गरेको बताउने खत्री पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानीमार्फत सयौँ युवालाई रोजगारी सिर्जना गरिएको दाबी गर्छन्। अब ती अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्ने उनको लक्ष्य रहेको छ।

    सरल स्वभाव, स्पष्ट विचार र विकासप्रेमी सोचका रूपमा परिचित खत्री राजनीतिलाई शक्ति आर्जनको माध्यमभन्दा सेवा विस्तारको माध्यमका रूपमा हेर्ने बताउँछन्। करिब डेढ दशकदेखि निरन्तर सामाजिक सेवामा सक्रिय उनी अब त्यस अनुभवलाई संसदीय नेतृत्वमार्फत अझ व्यापक बनाउने अभियानमा छन्।

    गोरखाली जनताका लागि प्रेम खत्री केवल उम्मेदवार मात्र होइनन् भन्ने धारणा उनका समर्थकहरूको छ—संकटमा साथ दिने, शिक्षा र स्वास्थ्यमा हात बढाउने र आत्मनिर्भरता जोड्ने एक भरोसाको नामका रूपमा उनी प्रस्तुत भइरहेका छन्। अन्ततः उनको सेवा भावलाई औपचारिक नेतृत्वमा रूपान्तरण गर्ने कि नगर्ने निर्णय भने मतदाताकै हातमा रहनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech