गोरखा — गोरखा–२ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जिल्ला नेता–कार्यकर्ता कांग्रेससँग मिलेर चुनावी प्रचारप्रसारमा सक्रिय भएका छन्। आइतबारदेखि संयुक्त प्रचार टोली गठन गरी उनीहरू घरदैलो अभियानमा खटिएका हुन्।
प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पालुङ्टार नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। संयुक्त टोलीले मतदातासँग भेटघाट गर्दै समर्थनका लागि आग्रह गरिरहेको छ।
प्रचार अभियानमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘रुख’ चिन्हमा मत मागिरहेको छ भने प्रलोपाले प्रत्यक्षतर्फ ‘रुख’ र समानुपातिकतर्फ ‘आँखा’ चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको छ। संयुक्त टोलीमा प्रलोपाका समानुपातिक उम्मेदवार लालबहादुर विक, केन्द्रीय सदस्य यानप्रसाद भट्ट ‘सरोज’, अमृत आचार्य तथा जिल्ला अध्यक्ष नारायण खत्री सहभागी छन्। कांग्रेसका तर्फबाट उम्मेदवार दवाडी अभियानमा अग्रसर देखिएका छन्।
प्रचारका क्रममा अध्यक्ष खत्रीले विगतमा कांग्रेसले ‘आँखा’ चिन्हमा सहयोग गरेको प्रसंग स्मरण गराउँदै यसपटक ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। साथै स्थानीय तह र प्रदेश तहसम्म कांग्रेससँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै मतदातालाई गठबन्धनको पक्षमा उभिन अनुरोध गरेका छन्।
“नेपाली कांग्रेससँग स्थानीय तहको चुनाव र प्रदेशसम्म सहकार्य गर्ने सहमति भएको छ। त्यसलाई कार्यान्वयन गर्नेछौँ,” खत्रीले भने, “हाम्रो विचार स्थापित गर्न पनि यही ढंगले लाग्नुहुनेछ भन्ने विश्वास छ।”
यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्तिले पनि कांग्रेससँग गठबन्धन गरेको थियो।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक