logo

मंगलबार, फाल्गुन १८ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन १८ मंगलबार

गोरखामा तारजाली र सिसिटिभी सहितको मतगणनास्थल तयार

गोरखामा तारजाली र सिसिटिभी सहितको मतगणनास्थल तयार


  • मंगलबार, फाल्गुन १८ २०८२
  • 4K
    SHARES

    गोरखा जिल्लामा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। मतदान हुन दुई दिन बाँकी रहँदा नै मतगणना स्थल तारजाली र सिसिटिभी क्यामेरासहित व्यवस्थित रूपमा तयार पारिएको छ।

    जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् र दुवै क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ। निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ भने निर्वाचन क्षेत्र नम्बर २ को मतगणना गोरखा नगरपालिका–८ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद मुरारीले जानकारी दिनुभएको छ।

    मतगणनालाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन मतगणकहरूलाई तारजालीभित्र राखी सिसिटिभी क्यामेराको निगरानीमा गणना गरिनेछ। उम्मेदवारका प्रतिनिधिहरूलाई भने जाली बाहिरबाट प्रत्यक्ष अवलोकन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

    जिल्लामा कुल २ लाख २९ हजार ५८ मतदाता रहेका छन्। तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५२५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५३३ जना मतदाता रहेका छन्।

    जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाका अनुसार निर्वाचनका सबै तयारी पूरा भइसकेकाले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन हुने विश्वास लिइएको छ। जिल्लामा ३३१ स्थायी र दुई अस्थायी गरी कुल ३३३ मतदान केन्द्र रहेका छन् भने दुई निर्वाचन क्षेत्रमा गरी २२५ मतदान स्थल तोकिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech