लमजुङ —नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई उनको अन्तर्राष्ट्रिय उपलब्धि, दीर्घकालीन योगदान र गाउँको प्रतिष्ठा उच्च बनाएको योगदानस्वरूप लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ।
भुलभुलेमा बिहीबार आयोजित एक कार्यक्रमका बीच उनलाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रवि थापा, युवा तथा खेलकुद विकास समिति अध्यक्ष खेम घले, अमर मावि खुदीकी अध्यक्ष अमृता पोखरेल, प्रधानाध्यापक तीर्थबहादुर बस्नेत लगायतले दोसल्ला, फूलमाला, खदा, मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्।

मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी पामचोक बाँसबोटकी सावित्राले आफूले लगाउने जर्सी गाउँपालिका अध्यक्ष गुरुङलाई उपहार दिएकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले सावित्राको योगदानले गाउँ र देशको गौरव बढाएको उल्लेख गरे।
उक्त अवसरमा साम्बाले गाउँपालिकाभित्र रहेका अन्डर–१९ खेलाडी र विद्यार्थीहरूसँग साक्षात्कार गर्दै भनेकी थिइन्, “अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलतामा पु-याउँछ। मैले अझै धेरै अघि बढ्नु छ र मलाई अझै धेरैजना म जस्तै फुटबल खेलेको हेर्न मन छ। त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ।”

हालै मात्र सावित्रा भण्डारी न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित भएकी छन्। उनलाई अष्ट्रेलियाको ए–लिग महिला फुटबलको नयाँ सिजनका लागि अनुबन्ध गरिएको हो। यसअघि उनले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट खेलिसकेकी थिइन्।
सावित्राले इजरायल, भारत, माल्दिभ्स लगायत देशमा लिग खेल्दै नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गरिसकेकी छन्। नेपाली महिला फुटबलको इतिहासमा सर्वाधिक गोलकर्तामध्ये एक सावित्राले खेलकुद क्षेत्रलाई प्रेरणादायी बनाउँदै आएको गाउँपालिकाले बताएको छ।

-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक