लोकप्रिय लोकगायक मीन केसीको नयाँ गीत ‘यो दिल भो खाली’ सार्वजनिक भएको छ। पुराना र चर्चित गायक मीन केसी र प्रतिभाशाली गायिका माधवी अर्यालको सुमधुर आवाजमा तयार यो लोकदोहोरी गीतले दर्शक–श्रोतालाई नयाँ स्वाद दिएको छ। गीतका शब्द र संगीत गायक केसीकै हुन् भने संगीत संयोजन जुजु गुरुङले गरेका हुन्। अडियो–भिडियो दुवैको उत्पादन गायक केसीकै व्यवस्थापनमा गरिएको हो।
गीत ‘यो दिल भो खाली’को म्यूजिक भिडियोमा रमेश चन्द सोडारी र सरिता दानकुटीको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोलाई शिव विकले निर्देशन र कोरियोग्राफी गरेका छन् भने वीरेन्द्र भाट ‘विपिन’ र शिव मिश्रको छायांकन रहेको छ। सम्पादन पनि विपिनकै जिम्मेवारीमा छ भने लोकेश भाटले ग्राफिक्स डिजाइन गरेका छन्। भिडियोलाई वर्ल्डकभर मिडियाले पोस्ट–प्रोडक्सन गरेको हो। उक्त म्यूजिक भिडियो गायक मीन केसीकै अफिसियल युट्युब च्यानल “Min KC” मार्फत सार्वजनिक गरिएको छ।
गीतको विषयवस्तु निकै भावनात्मक छ — परदेशमा धन कमाउन गएका प्रेमी र साथको खोजीमा रहेकी प्रेमिकाको मनोभावना यसमा चित्रण गरिएको छ। गीतले आर्थिक जीवनभन्दा पनि प्रेम, अपनत्व र सम्बन्धको मूल्य के हो भन्ने सन्देश दिन खोजेको छ।
गायक मीन केसी गोरखा नगरपालिका–१, ताप्ले गाउँका स्थायी बासिन्दा हुन्। बाल्यकालदेखि नै उनलाई लोकदोहोरीप्रति विशेष लगाव थियो। गाउँघरका चाडपर्व र सामाजिक कार्यक्रममा गीत गाएर उनले सानै उमेरमा आफ्नो पहिचान बनाएका थिए। केसीका अनुसार उनी कहिलेकाहीँ घरमा सबै सुतिसकेपछि लुकिछिपी रोधीघरमा गाउन जान्थे — संगीतप्रतिको उनको मोह त्यसबेला नै गहिरो भइसकेको थियो।
केसीले काठमाण्डौबाट उच्च शिक्षा हासिल गरेका छन्। उनले नेपाल ल क्याम्पसबाट स्नातक र त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर अध्ययन पूरा गरेका हुन्। नेपालमै रहँदा उनी लोकप्रिय लोकगायक रामप्रसाद खनालद्वारा सञ्चालित नेपाल टेलिभिजनको चर्चित लाइभ लोकदोहोरी कार्यक्रममा गायिका शिला आलेसँग दोहोरी गाएर २२ वर्षअघि नै टेलिभिजन पर्दामा देखापरेका थिए।
सन् २००३ मा अमेरिका गएपछि पनि उनले संगीत यात्रालाई निरन्तरता दिएका छन्। अमेरिका पुगेर पनि उनले नेपाली कला र संस्कृतिको संरक्षणका लागि सक्रिय भूमिका खेल्दै आएका छन्। यही उद्देश्यका साथ उनले सन् २००६ मा बोस्टन लोक सुसेली समूहको स्थापना गरेका थिए। हाल उनी अमेरिकाको बोस्टनमा कार्यरत छन् र त्यहींबाट पनि नेपाली गीतसंगीतको प्रचार–प्रसारमा जुटिरहेका छन्। बोस्टन, अमेरिका लगायत युरोप र क्यानडासम्मका विभिन्न कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेका छन्।
गायक मीन केसीले जीवनको भौतिक यात्रालाई परदेशमा अघि बढाए पनि उनको मन र भावना अझै पनि मातृभूमि र नेपाली लोकसंगीतमै बाँधिएको छ। नयाँ गीत ‘यो दिल भो खाली’ मार्फत उनले पुनः प्रमाणित गरेका छन् कि दूरीले कलालाई रोक्दैन — हृदयमा संगीत भए संसारको जुनसुकै कुनाबाट पनि नेपालीपन झल्काउन सकिन्छ।
गीत ‘यो दिल भो खाली’ अहिले युट्युबमा उपलब्ध छ, जहाँ दर्शकहरूले यसलाई मन पराउँदै प्रशंसा गरिरहेका छन् ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री