गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका–८ महादेवटारस्थित श्री जागेश्वर माध्यमिक विद्यालयले आफ्नो गौरवपूर्ण ५० औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती–२०८२ भव्य रूपमा मनाउने तयारी गरेको छ। विसं २०३२ मा स्थापना भएको यस विद्यालयले पाँच दशकको अवधिमा स्थानीय समुदाय मात्र नभई क्षेत्रीय स्तरमै गुणस्तरीय शिक्षाको पहिचान निर्माण गर्दै हजारौँ सक्षम र दक्ष जनशक्ति उत्पादन गरेको छ।
विधालयमा अध्ययन गरेका विद्यार्थीहरू अहिले देश–विदेशमा उत्कृष्ट योगदान दिइरहेका छन्, जसले विद्यालयको शैक्षिक छवि अझ सबल बनाएको छ।
स्वर्ण महोत्सव मंसिर २६ गतेदेखि पुष १ गतेसम्म विविध कार्यक्रमसहित मनाइने विद्यालयले जनाएको छ। कार्यक्रमको भव्य उद्घाटनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको विशेष उपस्थिति रहने विद्यालय व्यवस्थापन समितिले बताएको । यस उपस्थितिले विद्यालयको ५० वर्षे गौरवलाई अझ सम्मानजनक रूपले दर्शाउने अपेक्षा गरिएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरूका धमाकेदार प्रस्तुति रहनेछन्।
कार्यक्रममा लोकप्रिय कलाकार सुमन परियार, चिजा तामाङ, प्रेम अर्याल, मधु रसाइली, सचिन भट्टराई, सरुना देवाडी तथा बालदेखि वृद्धसम्मलाई रोमाञ्चित बनाउने जादुका प्रस्तुति दिन प्रख्यात अमिश उपरकोटी सहभागी हुने निश्चित गरिएको छ। स्थानीय दर्शकहरूले मनग्गे मनोरञ्जन र सांगीतिक रौनकको अनुभव गर्न पाउने विद्यालयले दाबी गरेको छ।
सांगीतिक प्रस्तुति मात्र होइन, महोत्सवमा विद्यार्थी प्रतिभा प्रदर्शन, पालिका स्तरको खेलकुद, सम्मान तथा पुरस्कार वितरण, विद्यालय ऐतिहासिक यात्रा झल्किने प्रदर्शनी, स्थानीय सांस्कृतिक प्रस्तुतिहरू, स्मारिका विमोचन लगायतका आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्। विद्यालयका भूतपूर्व विद्यार्थी, शिक्षक, समुदायका सक्रिय अगुवाहरूलाई सम्मान गर्ने कार्यक्रम पनि महोत्सवको विशेष आकर्षण रहनेछ।
विद्यालयले स्थानीय समुदायबाट पाएको साथ र विश्वासलाई स्वर्ण महोत्सवको माध्यमबाट अझ मजबुत बनाउँदै विद्यालय–समुदायको साझा पहिचानलाई उजागर गर्ने लक्ष्य लिएको छ। यसैक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसि भट्ट र प्रधानाध्यापक यदुनाथ सापकोटा, विद्यालय अभिभावक संघका अध्यक्ष राजु थापा, भूतपुर्व विधार्थीका अध्यक्ष बसन्त ढकाल र भूतपुर्व विधार्थीका पूर्व अध्यक्ष बलराम भट्टले संयुक्त रूपमा जारी गरेको अपिलमा अभिभावक, पूर्वविद्यार्थी, स्थानीय निकाय, व्यवसायी र सम्पूर्ण शिक्षाप्रेमीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
उहाँहरूका अनुसार, “यो महोत्सव विद्यालय मात्र होइन, सम्पूर्ण गाउँपालिकाको साझा उत्सव हो, जसलाई सफल बनाउन सबैको हातेमालो अपरिहार्य छ।”
विद्यालयले सुव्यवस्थित व्यवस्थापन, आर्थिक पारदर्शिता र सहभागितामूलक उत्सवका माध्यमबाट शिक्षा, संस्कृति र समुदायबीच एकीकृत सम्बन्ध निर्माण गर्दै स्वर्ण महोत्सवलाई ऐतिहासिक घडी बनाउने लक्ष्य लिएको छ। सहयोगदाताहरुलाई विभिन्न सम्मान, दोसल्ला, फ्रेम, ताम्रपत्र र स्मारिकामा नाम प्रकाशनमार्फत सम्मान प्रदान गरिने निर्णय विद्यालयले जनाएको छ।
स्वर्ण जयन्तीसँगै श्री जागेश्वर माध्यमिक विद्यालयले भविष्यमा अझ सबल, सक्षम र अनुकरणीय शैक्षिक संस्थाको रूपमा अघि बढ्ने विश्वास विद्यालयका भूतपुर्व विधार्थी रूपक ढकालले कान्तिपुर पाटी डटकमलाई जानकारी दिएका छन् ।
शिक्षा, संस्कृति र एकतालाई सम्मान — श्री जागेश्वरको स्वर्ण महोत्सव सफलतर्फ ।