काठमाडौं । चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को मुख्य भूमिका तथा निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चामा छ । सार्वजनिक भएको छोटो समयमै चलचित्रको ट्रेलर र गीतले युट्युबमा मिलियन भ्युज पार गर्दै दर्शकको मन जित्न सफल भएका छन् ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा गाउँबाट काठमाडौं छिरेको एक युवाको संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरमा देखाइएको आमा–छोराबीचको भावनात्मक सम्बन्ध र शहरको कठोर यथार्थले धेरै दर्शकलाई भावुक बनाएको देखिन्छ ।
चलचित्रमा समावेश मरिचमान श्रेष्ठकै स्वर रहेको गीत ‘ओ हेलो हाई हाई’ अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ । मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड यो गीत डान्सिङ बिटमा आधारित छ, जसले दर्शकलाई झुम्न बाध्य बनाएको छ ।
समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलर र गीत दुवैले युट्युबमा मिलियन भ्युजको आँकडा पार गरिसकेका छन् । यसले चलचित्रप्रति दर्शकको उत्सुकता र प्रतीक्षालाई झल्काएको छ ।
युट्युबको कमेन्ट बक्समा दर्शकहरूले चलचित्रको विषयवस्तु र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन् । एक दर्शकले लेखेका छन्, “ट्रेलर हेर्दा मनै छुन्छ, गाउँबाट शहर आएर संघर्ष गर्ने हरेक युवाको कथा देखिन्छ।”
त्यस्तै अर्का दर्शक लेख्छन्, “बल्छी धुर्बे दाइको अभिनय सधैं प्राकृतिक हुन्छ । हाँसो र आँसु दुवैको मिश्रण ट्रेलरमै देखियो, फिल्म सुपरहिट हुने पक्का छ।”
बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन् । यो उनको पहिलो फिचर फिल्म निर्देशन हो । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका श्रेष्ठ त्यसपछि टेलिचलचित्र निर्देशनमा सक्रिय थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ पनि दर्शकमाझ लोकप्रिय छन् ।
शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको चलचित्र ‘गोबर गणेश’ आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका चलचित्र हलमा प्रदर्शन हुँदैछ । नेपालमा चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्ट ले गर्नेछ ।