काठमाडौं, ८ साउन – गायिका शान्ति शाहीको स्वरमा सजिएको नयाँ तीज गीत ‘खातानी रित्तै, खल्तीनी रित्तै’ सार्वजनिक भएको छ। आउँदो तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो गीतले परम्परागत तीज धुनलाई आधुनिक संगीतको स्वादमा प्रस्तुत गरेको छ।
गीतमा शान्ति शाहीको सशक्त स्वरसँगै लोकधुनको झल्को, आकर्षक शब्द चयन र नृत्यले दर्शकको ध्यान तानेको छ। युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै दर्शकको मन जित्न थालेको छ।
भिडियोमा रंगीन पहिरन, मौलिक नृत्यशैली, र ग्रामीण परिवेश झल्काउने दृश्य समावेश गरिएको छ। तीज पर्वमा महिलाहरूको उत्सव, प्रेम, पीडा र आशाको भाव गीतमा समेटिएको देखिन्छ।

गीतको बोल ‘खातानी रित्तै, खल्तीनी रित्तै’ले पारिवारिक तथा वैवाहिक सम्बन्धमा आउने भावनात्मक उतारचढावलाई संकेत गरेको छ। गीतमा प्रयोग भएका शब्दहरूले नेपाली महिलाको दैनिक जीवनसँग गहिरो सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ।
शान्ति शाही पछिल्लो समय तीज गीतमार्फत लोकसंगीतमा पुनः चर्चा बटुल्न सफल भएकी छन्। उनका यसअघि सार्वजनिक गीतहरू पनि सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाउँदै आएका छन्।
हाल सार्वजनिक भएको गीतले पनि दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालहरूमा गीतका क्लिपहरू प्रयोग गरी प्रयोगकर्ताहरू भिडियो बनाइरहेका देखिन्छन्।
भिडियो हेर्नुहोस्:
यो पनि पढ्नुहोस्: शान्तिकुमारी शाहीको गायन यात्रा : देउडा हुँदै भजनसम्म
काठमाडौँ । विद्यालय पढ्दादेखि नै साधारण देउडाको स्वरमा सुर मिलाउँदै गायन सुरु गरेकी गायिका शान्तिकुमारी शाहीको आज लोकसंगीत क्षेत्रमा स्थापित नाम बनेको छ । कर्णाली प्रदेशको कालीकोटमा जन्मिएर हाल सुदूरपश्चिमको बैतडीलाई कर्मभूमि बनाएकी उनी मौलिकता र संस्कृतिको जगेर्नासँगै समाजसेवामा समेत आबद्ध छिन् ।
२०७४ सालमा औपचारिक रूपमा गायन क्षेत्रमा प्रवेश गरेकी शाहीले सुरुआतमा केही चल्तीका गीत नक्कल गर्दै अभ्यास गरिन् । त्यसपछि उनले आफ्नै मौलिकता बोकेको स्वर दिन र सुदूरपश्चिमको गहिरो संस्कृति समेटिएका भाका गाउन थालिन् ।
यसले छिट्टै श्रोता–दर्शकको ध्यान खिच्न थाल्यो । शान्तिकुमारीले ‘लाली पाउडर घसेर’, ‘गयो जोवन माइतै बसेर’, ‘कर्णालीका छालैछाल’, ‘भोटे बाइगो मुगु’, ‘कोही हुम्लाकी कोही जुम्लाकी’, ‘कोहीमाथि मुगुकी’जस्ता गीतमा आफ्नो आवाज दिएकी छन् । उनको स्वरले सुदूरपश्चिम र कर्णालीका भाकालाई नयाँ उचाइ दिएको छ । ती गीतहरूले खाली मनोरञ्जन मात्र नभई जनजीवन, संघर्ष र भूगोलका कथा पनि बोकेका छन् ।
शान्तिकुमारीले पछिल्लो समय ‘हरिभजन’ नामक भजनमार्फत भक्तिभावको क्षेत्रतर्फ पनि उपस्थिति जनाएकी छन् । लोक भावनालाई भजनको माधुर्यसँग मिसाएर प्रस्तुत गरिएको यो गीतलाई स्रोताले रुचाएको पाइएको छ । गायिका शान्तिकुमारी आफू सुदूरपश्चिमका स्थानीय भाकालाई संगीतमार्फत बचाउने र अघि बढाउने अभियानमा समर्पित रहेको बताउँछिन् । ‘हामीकहाँ मौलिक भाका हराउँदै गएका छन् । मैले संगीतमार्फत त्यो जगेर्ना गर्ने प्रयास गरिरहेकी छु,’ उनी भन्छिन्, ‘म हरेक प्रस्तुति र शब्दमा आफ्नो भूगोल र संस्कृति झल्काउने उद्देश्य राख्छु ।’
गायिका शान्तिकुमारी पछिल्ला वर्षहरूमा समाजसेवामा पनि सक्रिय छिन् । उनले हालै काठमाडौँमा आयोजना गरिएको श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन विराट ज्ञानमहायज्ञमा मानव सेवा फाउन्डेसनको आजीवन सदस्यता लिँदै आफ्नो प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा उनले आफ्ना देउडा गीतमार्फत् भक्तजनलाई छमछमी नचाएकी मात्र होइन, संस्थालाई सहयोग पनि गरेकी थिइन् ।
शान्तिकुमारीले आफ्नो सांगीतिक योगदानका लागि कैयौँ राष्ट्रिय सम्मान तथा उत्कृष्ट गायिका अवार्ड प्राप्त गरेकी छन् । उनले लोकसंगीत संरक्षणमा योगदान, मौलिक भाका प्रवद्र्धन, सांगीतिक समाजसेवाजस्ता विधामा अवार्ड पाएकी छन् ।
शान्तिकुमारीको अबको सपना अब देउडासँगै हिमालका कथा संगीतमार्फत सुनाउने रहेको छ । जन्मथलो कालीकोट र कर्मथलो बैतडी भएकाले उनले दुवै ठाउँका स्थानीय भाषालाई समेटेर नयाँ गीतहरू ल्याउने तयारी गरिरहेकी छन् ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री