गोरखा । शहिद लखन गाउँपालिका–७ स्थित मास्कीछाप कृषक समूहले व्यावसायिक गोलभेडा खेतीबाट उत्पादन लिन थालेको छ। २०८१ सालमा गठन भएको समूहले यस वर्ष टनेल तथा खुला जमिनमा सृजना जातको गोलभेडा खेती विस्तार गर्दै स्थानीय बजारको माग पूरा गर्ने र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको हो।
समूहका अध्यक्ष कृष्णबहादुर थापा मगरका अनुसार खेती विस्तारका लागि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लष्टर इकाइ गोरखाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ।
उनका अनुसार गत आर्थिक वर्ष साना सिँचाइ कार्यक्रमअन्तर्गत पाइप खरिदका लागि एक लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो। चालु आर्थिक वर्षमा पूरक अनुदान कार्यक्रममार्फत ६ लाख रुपैयाँ उपलब्ध भएपछि पाँचवटा प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणाली र हरियो जालीसहितका संरचना निर्माण गरिएको छ।
त्यस्तै अनुदानबाट पाँचवटा मिनी टिलर, इलेक्ट्रिक स्प्रेयर, बहुवाली थ्रेसर, कम्बाइन मिल, मकै छोडाउने मेसिन तथा पुश रो सिडरलगायत कृषि उपकरण खरिद गरिएको समूहले जनाएको छ।
आयोजनाले कृषकलाई आर्थिक सहयोगसँगै व्यावसायिक खेतीसम्बन्धी प्राविधिक क्षमता विकासमा पनि जोड दिएको छ। आयोजना प्रमुख होमनाथ लम्सालका अनुसार किसान पाठशालामार्फत गोलभेडाको बीउ रोपाइँ, कटिङ, माटो उपचार, विषादीको सुरक्षित प्रयोग, रोग तथा कीरा व्यवस्थापनका विषयमा नियमित तालिम सञ्चालन भइरहेको छ। समूहलाई ट्र्याक्टर सञ्चालन तथा मर्मतसम्बन्धी तालिमसमेत प्रदान गरिएको उनले बताए।
समूहले बेमौसमी तरकारी उत्पादनका लागि थप फलामे टनेल आवश्यक रहेको जनाएको छ। साथै कफी खेतीलाई समेत लक्षित गरी कृषि यान्त्रीकरण विस्तार र उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा सहयोग गर्न आयोजनासँग आग्रह गरेको छ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले हाल शहिद लखन गाउँपालिका र आरुघाट गाउँपालिका का विभिन्न कृषक समूहमार्फत कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा