logo

बुधबार, असार ३१ २०८३

kantipurpationlinetv

२०८३ असार ३१ बुधबार

तारकेश्वर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ

तारकेश्वर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ


  • बुधबार, असार ३१ २०८३
  • 3K
    SHARES

    काठमाडौं । तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा सभा २०८३ सम्पन्न गर्दै लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानपूर्वक बिदाइ गरेको छ।

    मंगलबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जनको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्साल, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरे, जनस्वास्थ्य अधिकृत अनिता खनाल, स्वास्थ्य संस्थाका कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायस्तरमा निःस्वार्थ भावनाका साथ पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै नगरपालिकाको तर्फबाट आभार व्यक्त गरे। उनले पूर्ण खोप सुनिश्चितता घोषणा नगरपालिकाको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

    उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाको समर्पण र सेवाभावकै कारण नगरको स्वास्थ्य प्रणाली थप प्रभावकारी बन्दै गएको बताइन्। उनीहरूको योगदानको कदरस्वरूप नगरपालिकाले सम्मानजनक बिदाइको व्यवस्था गरेको पनि उनले उल्लेख गरिन्।

    प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए। नगर स्वास्थ्य शाखा प्रमुख बिनोदकुमार शाहले पूर्ण खोप सुनिश्चितता घोषणा गर्न नगरपालिकाले सञ्चालन गरेका गतिविधि र उपलब्धिबारे प्रस्तुतीकरण दिएका थिए।

    वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्यालले पूर्ण खोप सुनिश्चितता घोषणा सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए भने जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न सफल भएकोमा तारकेश्वर नगरपालिकाका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई बधाई दिएका थिए।

    कार्यक्रममा ६० वर्ष उमेर पूरा गरी सेवाबाट अवकाश लिएका चार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित वडा अध्यक्षहरूले अबिर, माला, दोसल्ला, सम्मानपत्र, चाँदीको सिक्का तथा जनही रु. १ लाख बराबरको चेक प्रदान गरी सम्मानजनक बिदाइ गरेका थिए।

    त्यसैगरी कार्यक्रममा नगरभित्र कार्यरत सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप छाता, जुत्ता र झोला वितरण गरिएको थियो।

    नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गणेशबहादुर कुँवरले सञ्चालन गरेको कार्यक्रममा जनस्वास्थ्य अधिकृत डा. लक्ष्मीप्रसाद घिमिरेले पनि मन्तव्य व्यक्त गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page