भक्तपुर । चाँगुनारायण नगरपालिकाले उपभोक्ताको हकहित संरक्षण, बजारमा स्वच्छता कायम तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिएको छ। नगरपालिकाको अनुगमन समितिले होटल, मासु पसल, तरकारी तथा फलफूल पसल, किराना पसल, प्लास्टिकका सामग्री बिक्री गर्ने पसल, बेकरीलगायत विभिन्न व्यवसायमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा धेरै व्यवसाय स्थानीय तहमा दर्ता नभई सञ्चालन भइरहेको पाइएको छ। त्यस्तै, केही मासु पसलमा सरसफाइको कमीसमेत देखिएको अनुगमन टोलीले जनाएको छ। उपभोक्ताले दैनिक उपभोग गर्ने खाद्यवस्तुको गुणस्तर, स्वच्छता र व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको पालना भए–नभएको विषयमा टोलीले निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, साइनबोर्ड, नापतौलको अवस्था, खरिद तथा बिक्री बिल, खाद्यवस्तुको गुणस्तर र पसलको सरसफाइजस्ता विषयलाई प्राथमिकतामा राखिएको थियो। केही व्यवसायमा आवश्यक कागजात तथा कानुनी प्रक्रिया पूरा नगरेको र सुधार गर्नुपर्ने अवस्था देखिएको जनाइएको छ।
विशेषगरी मासु पसलमा सरसफाइको कमी देखिनुले खाद्य स्वच्छता र जनस्वास्थ्यप्रति थप सचेत हुनुपर्ने आवश्यकता औँल्याएको छ। खाद्यवस्तुको भण्डारण, बिक्रीस्थलको सफाइ र स्वच्छता कायम गर्न व्यवसायीले विशेष ध्यान दिनुपर्ने देखिएको छ।
बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन व्यवसायीले आफ्नो व्यवसाय स्थानीय तहमा दर्ता गरी आवश्यक नवीकरण तथा अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्ने देखिएको छ।
नियमित बजार अनुगमनसँगै व्यवसायीमा जिम्मेवारीबोध बढाउने र उपभोक्तालाई सुरक्षित वस्तु तथा सेवा उपलब्ध गराउने दिशामा नगरपालिकाको पहल महत्वपूर्ण देखिएको छ।

-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
नेपाल संवत् ११४७ को अवसरमा ललितपुरमा साताव्यापी कार्यक्रम