logo

सोमबार, कार्तिक १७ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक १७ सोमबार

विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह

विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह


  • सोमबार, कार्तिक १७ २०८३
  • 4.6K
    SHARES

    गोरखा — पालुङटार नगरपालिका–४ लुइँटेलस्थित श्री अमर ज्योति जनता माध्यमिक विद्यालयले विद्यालयका शैक्षिक गतिविधि, विद्यार्थीका तस्बिर तथा भौतिक सामग्री व्यक्तिगत वा राजनीतिक प्रयोजनमा प्रयोग नगर्न आग्रह गरेको छ।

    विद्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रम र गतिविधिका तस्बिर तथा भिडियो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रयोग भएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।

    विद्यालयमा केही महिनाअघि ‘एआई एन्ड आईसीटी फ्युचर बिल्डर्स बुटक्याम्प’ आयोजना गरिएको थियो। उक्त कार्यक्रममा पालुङटार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा काठमाडौंस्थित बाखाप्पा डिजिटल मार्केटको प्राविधिक सहयोगमा विभिन्न विद्यालयका कम्प्युटर विज्ञान विषयका विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीलाई सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डिजिटल नवप्रवर्तन तथा प्रविधिको जिम्मेवार प्रयोगबारे प्रशिक्षण दिइएको थियो।

    यसै कार्यक्रमसँग सम्बन्धित तस्बिर तथा सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयको शैक्षिक गतिविधि र विद्यार्थीलाई व्यक्तिगत तथा राजनीतिक प्रयोजनमा प्रयोग गरिएको भन्दै आलोचना भएको छ।

    अमेरिकाबाट फर्किएका राकेश राजभाटले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘क्यान्डिडेट क्लब’ मा पालुङटार नगरप्रमुख पदका लागि आफ्नो दाबी  प्रस्तुत गरेका छन्। उनले सामाजिक सञ्जालमा बुटक्याम्पसँग सम्बन्धित सामग्री सार्वजनिक गरेपछि त्यसको प्रयोग र उद्देश्यबारे प्रश्न उठेको हो। यद्यपि, ‘क्यान्डिडेट क्लब’ मा दाबी प्रस्तुत गर्नु पार्टीबाट आधिकारिक उम्मेदवार चयन भइसकेको अवस्था भने होइन।

    विद्यालयले जारी गरेको विज्ञप्तिमा अमर ज्योति जनता माध्यमिक विद्यालय लामो इतिहास बोकेको शैक्षिक संस्था भएको उल्लेख गर्दै यसको विकासमा तीनै तहका सरकार, राजनीतिक दल, शिक्षक, अभिभावक, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी, पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा विभिन्न दाताहरूको योगदान रहेको जनाएको छ।

    विद्यालयले आफूलाई पूर्ण शान्ति क्षेत्र तथा बालमैत्री शैक्षिक गन्तव्यका रूपमा विकास गर्दै लगेको उल्लेख गरेको छ। अनुभवी शिक्षक, आधुनिक कक्षाकोठा, व्यवस्थित पुस्तकालय, विज्ञान प्रयोगशाला तथा आधुनिक कम्प्युटर प्रयोगशालासहित प्रविधिमैत्री शिक्षण अभ्यास विद्यालयका विशेषताका रूपमा रहेका छन्। सुरक्षित र समावेशी शैक्षिक वातावरण निर्माणमा पनि विद्यालयले जोड दिँदै आएको छ।

    विद्यालयले कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दलले विद्यालयका शैक्षिक गतिविधि, विद्यार्थीका तस्बिर तथा भिडियो र भौतिक सामग्रीलाई व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरेको छ।

    सरकारी विद्यालय कुनै व्यक्ति वा राजनीतिक दलको प्रचारप्रसार गर्ने थलो होइन। विद्यालय सबैको साझा शैक्षिक संस्था हो, जहाँ विद्यार्थीको भविष्य निर्माण गरिन्छ। त्यसैले विद्यालयको शैक्षिक वातावरण, विद्यार्थी र संस्थागत सम्पत्तिलाई दलीय तथा व्यक्तिगत राजनीतिक गतिविधिबाट अलग राख्न आवश्यक छ। राजनीतिक दल, नेता तथा सम्बन्धित सबै पक्षले सरकारी शैक्षिक संस्थाको मर्यादा र निष्पक्षता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने माग उठेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page