logo

बुधबार, माघ २१ २०८२

kantipurpationlinetv

२०८२ माघ २१ बुधबार

श्री पञ्चमीको अवसरमा महर्षि स्कुलमा भव्य पूजा, अक्षरारम्भ र विविध कार्यक्रम सम्पन्न

श्री पञ्चमीको अवसरमा महर्षि स्कुलमा भव्य पूजा, अक्षरारम्भ र विविध कार्यक्रम सम्पन्न


  • शुक्रबार, माघ ९ २०८२
  • 23.5K
    SHARES

    काठमाडौं: आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको पावन अवसरमा महर्षी स्कुल, पवित्रनगर, काठमाडौंमा ज्ञान, विद्या, कला र वाणीकी देवी माता सरस्वतीको विशेष पूजा–आराधना गर्दै पर्व भव्य रूपमा मनाइएको छ।

    माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई अज्ञानताको अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने दिनका रूपमा लिने गरिन्छ। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै काठमाडौं महानगरपालिका–२६ मा अवस्थित महर्षी स्कुलले पूजा, अक्षरारम्भ तथा विविध शैक्षिक–सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रमअन्तर्गत साना बालबालिकाका लागि अक्षरारम्भ (विद्यारम्भ) कार्यक्रम विशेष आकर्षणको रूपमा रहेको थियो। आजकै दिन सरस्वतीको पूजा गरी शिक्षारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने जनविश्वास अनुसार अभिभावकहरूले आफ्ना नानीहरूलाई विद्यारम्भ गराएका थिए। सरस्वती मातालाई चढाइएको सात गेडा अक्षता ग्रहण गर्दा विद्या, बुद्धि र चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ।

    सरस्वती पूजाको अवसरमा विद्यालय परिसर भक्तिमय वातावरणले भरिएको थियो। पञ्चे बाजासहित माता सरस्वतीको स्वागत गरिनुका साथै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विद्यार्थीहरू बिहानैदेखि उत्साह र खुसीका साथ सरस्वती माताको पूजा–आराधनामा सहभागी भई विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा रमाएका थिए।

    शैक्षिक अनुशासन, गुणस्तरीय र व्यावहारिक शिक्षामा विश्वास राख्दै अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको महर्षी स्कुल अभिभावकहरूको रोजाइको शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ। आफ्ना छोराछोरीलाई यस विद्यालयमा अध्ययन गराउँदा भविष्य उज्ज्वल हुनेमा अभिभावकहरू विश्वस्त देखिएका छन्।

    उल्लेखनीय रूपमा, चर्चित बालकलाकार सुप्रीम मल्ल ठकुरी समेत यसै महर्षी स्कुलमा अध्ययनरत छन्, जसले विद्यालयको पहिचानलाई अझ मजबुत बनाएको छ।

    धार्मिक, सांस्कृतिक र शैक्षिक मूल्यको सुन्दर संगमका रूपमा सम्पन्न सरस्वती पूजा कार्यक्रमले महर्षी स्कुललाई केवल शिक्षाको केन्द्र मात्र नभई संस्कार र सृजनशीलताको थलोका रूपमा पुनः स्थापित गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech