logo

बिहिबार, चैत्र ११ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ११ बिहिबार

आज चैते दसैँ: नवदुर्गाको पूजा आराधनासहित पर्व मनाइँदै

आज चैते दसैँ: नवदुर्गाको पूजा आराधनासहित पर्व मनाइँदै


  • बिहिबार, चैत्र ११ २०८२
  • 91
    SHARES

    काठमाडौँ — प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ।

    वर्षमा चार नवरात्र पर्ने भए पनि असार र पुस शुक्ल पक्षका नवरात्र धेरै प्रचलनमा छैनन्। केही साधकले भने ती समयमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्ने गर्छन्।

    असोज शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि घटस्थापना गरी जमरा राखिन्छ र दशमीका दिन मान्यजनबाट टीका–जमरा लगाउने परम्परा छ। यही कारण असोजको दसैँलाई बडादसैँ भनिन्छ। तर चैते दसैँमा यस्तो परम्परा धेरै परिवारमा नभए पनि विशेष गरी अष्टमी र नवमीलाई महत्वका साथ मनाइन्छ।

    हनुमानढोका दरबारस्थित दसैँघरमा भने घटस्थापना गरी विधिपूर्वक पूजा आराधना गरिन्छ र अष्टमीका दिन बलि दिने चलन कायम छ। नवमीका दिनलाई त्रेता युगमा भगवान श्रीरामको जन्म भएको विश्वासका आधारमा रामनवमीका रूपमा पनि मनाइन्छ।

    बडादसैँझैँ चैते दसैँको मुख्य उद्देश्य पनि यस लोकमा सुख–शान्ति र परलोकमा सद्गतिको कामना गर्नु नै हो। यस अवसरमा परिवारका सदस्यबीच जमघट हुने परम्परा पनि रहिआएको छ।

    काठमाडौँ उपत्यकाभित्र गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, भद्रकाली मन्दिर, कालिकास्थान मन्दिर लगायतका शक्तिपीठमा विशेष पूजा हुने गर्दछ।

    यसैगरी उपत्यकाबाहिर मनकामना मन्दिर, पालाञ्चोक भगवती मन्दिर, शैलेश्वरी मन्दिर लगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ।

    चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा पूजा आराधना गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech