logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण

तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण


  • बुधबार, चैत्र ४ २०८२
  • 25.5K
    SHARES

    गोरखा: तालपोखरी जात्रा यस वर्ष पनि गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ कालामाटामा अवस्थित तालपोखरी मा भव्य रूपमा आयोजना हुने भएको छ। स्थानीय धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस जात्राले वर्षेनी झैँ यसपटक पनि व्यापक आकर्षण थप्ने अपेक्षा गरिएको छ। तालपोखरी क्षेत्रमा अवस्थित तालदेवी मन्दिरप्रति स्थानीयवासीहरूको गहिरो आस्था रहँदै आएको छ। यही आस्थाका कारण जात्राको अवसरमा विशेष पूजा–अर्चना तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै परम्परागत रूपमा माछा पालन गरिँदै आएको यस क्षेत्रमा जात्राका बेला माछा मार्ने तथा वितरण गर्ने प्रचलनले कार्यक्रमलाई अझ विशेष बनाउने गर्दछ।

    यस वर्ष आयोजना हुने २१ औं संस्करणअन्तर्गत तालदेवी युवा क्लब ले विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ। मुख्य आकर्षणका रूपमा २१ औं खुल्ला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, लोकदोहोरी प्रस्तुति तथा हास्य कार्यक्रम रहनेछन्।

    खुल्ला भलिबल प्रतियोगिता चैत्र १८ गते दिउँसो १२:०० बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले रु ६० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीका लागि दर्ता शुल्क रु ७ हजार तोकिएको आयोजकले जनाएको छ।

    जात्राअन्तर्गत चैत्र १८ गते खेलकुद कार्यक्रम तथा चैत्र १९ गते सांस्कृतिक कार्यक्रम र तालदेवी मन्दिरमा विशेष पूजा–अर्चना गरिनेछ।

    सांस्कृतिक कार्यक्रममा गायक सिद्धार्थ आले मगर, गायिका इब्सल सन्ज्याल तथा हास्य कलाकार सन्तोष थापा (‘झोले’) लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम तथा अन्य आकर्षक गतिविधिहरू पनि समावेश गरिनेछन्।

    गाउँको धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहन, स्थानीय प्रतिभालाई मञ्च प्रदान गर्नु तथा समाजमा आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको यो जात्रा पछिल्लो समय आसपासका क्षेत्रका लागि समेत महत्वपूर्ण सांस्कृतिक तथा खेलकुद महोत्सवका रूपमा स्थापित हुँदै गएको छ।

    आयोजकले सम्पूर्ण गाउँवासी, खेलाडी, कलाकार तथा दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page