गोरखा — रेडियोको माइक्रोफोनबाट सुरु भएको यात्रा अहिले कमेडी, अभिनय र लेखनको मञ्चसम्म आइपुगेको छ। गोरखा नगरपालिका–७ का आशिष न्यौपाने कलाकार, कमेडी लेखक, रेडियो प्रस्तोता तथा कमेडियनका रूपमा आफ्नो पहिचान स्थापित गर्दै अघि बढिरहेका छन्।
श्री नवज्योति विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका न्यौपानेले द ओल्ड क्यापिटलबाट प्लस टु अध्ययन गरे। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका उनले आफ्नो व्यावसायिक यात्रा गोरखास्थित च्वाइस एफएमबाट सुरु गरेका थिए। त्यहाँ करिब पाँच वर्ष रेडियो जकीका रूपमा काम गर्दा उनले आवाज, प्रस्तुति र श्रोता–दर्शकसँग जोडिने सञ्चारकलालाई नजिकबाट बुझ्ने अवसर पाए।
रेडियोमा काम गर्दागर्दै उनको रुचि कमेडीतर्फ मोडियो। कमेडी च्याम्पियन सिजन–२ मा सहभागी भएपछि कमेडीप्रतिको आकर्षण थप बढेको उनी बताउँछन्। उक्त प्रतियोगितामा उनले ‘राजा र सेनापति’को पात्र प्रस्तुत गरेका थिए। यही अनुभवले उनलाई कमेडीका विभिन्न पक्ष बुझ्न र लेखनमा सक्रिय हुन प्रेरित गर्यो।
त्यसपछि न्यौपानेले आफैँ कमेडीका स्क्रिप्ट लेख्न थाले। विभिन्न ठाउँमा कमेडी लेखकका रूपमा काम गर्ने क्रममा चर्चित स्टोरीटेलर सैग्रेस पोखरेलसँग सहकार्य गर्ने अवसरसमेत पाए। केही हास्य टेलिशृङ्खलामा पनि उनले लेखनको जिम्मेवारी निर्वाह गरेका छन्।
लेखनमा मात्र सीमित नरही अभिनयमा समेत आफूलाई निखार्ने उद्देश्यले उनले नेपाली रङ्गमञ्चका वरिष्ठ व्यक्तित्व सुनील पोखरेलसँग आरोहण गुरुकुलमा अभिनय सिके। नाट्ययात्राका क्रममा भारतको नेसनल स्कुल अफ ड्रामामा समेत नाटक प्रस्तुत गर्ने अवसर पाए। यी अनुभवले उनलाई पात्र निर्माण, अभिनय र मञ्च प्रस्तुतिका विभिन्न पक्ष बुझ्न सहयोग पुर्यायो।
लामो समय पर्दापछाडि बसेर अरूका लागि कथा र स्क्रिप्ट लेख्दै आएका न्यौपानेमा आफ्नै सिर्जना आफैँ मञ्चमा उभिएर प्रस्तुत गर्ने चाहना बढ्दै गयो। यही चाहनाले उनलाई कमेडी च्याम्पियन सिजन–४ सम्म पुर्यायो। प्रतियोगितामा प्रतिस्पर्धीका रूपमा सहभागी भएका उनी उत्कृष्ट आठसम्म पुग्न सफल भए। यसलाई उनले आफ्नो प्रतिभा दर्शकमाझ चिनाउने र दर्शकको माया तथा विश्वास प्राप्त गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्।
न्यौपानेका लागि कलाकारिता केवल दर्शकलाई हँसाउने माध्यम मात्र होइन। समाजलाई नियाल्ने, आफ्ना विचार व्यक्त गर्ने र मानिसका कथा तथा भोगाइलाई मनोरञ्जनमार्फत प्रस्तुत गर्ने माध्यम पनि हो। लेखनबाट सुरु भएको उनको यात्रा अहिले अभिनय र प्रस्तुतिसम्म विस्तार भएको छ। आगामी दिनमा नेपाली कला, साहित्य, रङ्गमञ्च र कमेडी क्षेत्रमा निरन्तर योगदान दिने उनको लक्ष्य छ।
गोरखाको पहिचानसँग जोडिएको कलाकारिता
आफ्नो यात्रामा गोरखा र गोरखावासीको साथ, सहयोग, माया र आशीर्वादलाई महत्त्वपूर्ण मान्ने न्यौपाने आफूलाई गोरखाको कलाकारका रूपमा चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छन्। उनका अनुसार कुनै पनि कलाकारको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित हुँदैन, उसले आफ्नो जन्मभूमि र जिल्लाको पहिचान स्थापित गर्ने अवसरसमेत पाउँछ।
ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा समृद्ध गोरखामा प्रतिभाको कमी नभए पनि धेरैले आफ्नो क्षमता देखाउने पर्याप्त मञ्च र अवसर नपाएको उनको बुझाइ छ। गोरखाबाट अझ धेरै कलाकार, लेखक, साहित्यकार र सिर्जनशील व्यक्तित्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको हेर्ने उनको चाहना छ।
‘म आफू मात्र अगाडि बढ्न चाहन्नँ, मसँगै गोरखाका अरू धेरै प्रतिभाहरू पनि अगाडि बढेको देख्न चाहन्छु’ भन्ने उनको सोचले जन्मभूमिप्रतिको लगाव र जिल्लाका प्रतिभाप्रतिको अपेक्षा झल्काउँछ। आफ्नै सिर्जनात्मक यात्रासँगै गोरखाको नाम पनि चिनाउने लक्ष्य बोकेर अघि बढिरहेका आशिष न्यौपानेको यात्रा नयाँ पुस्ताका सिर्जनशील युवाका लागि प्रेरणाको एउटा उदाहरण बनेको छ।
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल संवत् ११४७ को अवसरमा ललितपुरमा साताव्यापी कार्यक्रम