काठमाडौं । गायक राजन भुजेल विश्वकर्माले जन्मभूमिप्रतिको माया र गाउँसँगको भावनात्मक सम्बन्ध समेटिएको नयाँ पञ्चेबाजा गीत ‘म जन्मेको ठाउँ’ सार्वजनिक गरेका छन् । गीतमा राजन भुजेल विश्वकर्मा र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत राजन स्वयंको छ । आशिष अविरलको संगीत संयोजन रहेको गीतलाई शिशिर परियारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । कृष्ण लामिछानेले रेकर्ड गरेको गीत रागा रेकर्डिङ स्टुडियोमा तयार पारिएको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३, हराखर्कमा जन्मिएका राजनले गीतमार्फत जहाँ पुगे पनि आफ्नो जन्मभूमि, हुर्के–बढेको ठाउँ र बाल्यकालका सम्झना बिर्सन नसकिने भाव व्यक्त गरेका छन् । मौलिक पञ्चेबाजाको शैलीमा तयार पारिएको गीतले आफ्नो गाउँठाउँ र माटोप्रतिको आत्मीयतालाई उजागर गरेको छ ।
वि.सं. २०३३ साल असार १५ गते बुवा शेरबहादुर भुजेल विश्वकर्मा र आमा घमाया भुजेल विश्वकर्माको कोखबाट जन्मिएका राजन सानैदेखि गायनमा सक्रिय थिए । उनले वि.सं. २०४६ सालदेखि गाउँका मेला, विवाह, व्रतबन्ध, पूजाआजा तथा विद्यालयमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुँदै आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका थिए । बेनीको माघे संक्रान्ति मेला, गलेश्वरको बालाचतुर्दशी मेला र राखुकोट मेलालगायतका कार्यक्रममा पनि उनले सहभागिता जनाएका थिए ।
वि.सं. २०५१ सालमा रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आयोजित लोकगीत प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका राजनले स्वर परीक्षा पनि उत्तीर्ण गरेका थिए । उनले हालसम्म ३० भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । ‘लगनको महिनाले’, ‘मलाई त च्वाक केटी चाहिन्छ’, ‘शिरमा चन्दन’, ‘देउसी भैलो’, ‘शिरमा फूलै माया’ र ‘युके लन्डनमा’ लगायत उनका गीतले चर्चा पाएका छन् ।
गायनसँगै व्यवसाय र समाजसेवामा समेत सक्रिय राजन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका मानार्थ सदस्य, उपत्यका समन्वय अनामनगर समितिका सल्लाहकार तथा म्याग्दी कलाकार संघ काठमाडौंका संस्थापक अध्यक्ष हुन् ।
गीतको म्युजिक भिडियो निर्देशन राजन स्वयंले गरेका छन् । मरुभूमि नारायण र अमृत महर्जनको छायांकन तथा रोशन धितालको सम्पादन रहेको भिडियोमा राजनका छोरा सफल भुजेल र बुहारी हर्षिता भुजेललगायतले अभिनय गरेका छन् । गीत राजन भुजेल विश्वकर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
चाडपर्वलाई लक्षित गर्दै ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन