काठमाडौं: नेपालीहरूको महान् चाड दशैं तथा तिहार नजिकिँदै गर्दा परदेशमा रहेका नेपालीहरूको घरदेशप्रतिको माया, परिवारसँगको आत्मीयता र गाउँघरको सम्झनालाई समेटेर तयार पारिएको नयाँ गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक भएको छ।
पोर्चुगलमा बस्दै आएका नेपाली सर्जक रबिन रिमालको शब्द तथा संगीत रहेको उक्त गीतले दशैं–तिहारको उल्लाससँगै परदेशमा रहेर चाडपर्व मनाउनुपर्ने नेपालीहरूको भावनालाई उजागर गर्ने प्रयास गरेको छ।
दशैं आउँदा गाउँघरमा छाउने रौनक, आँगनको चहलपहल, आमाबुबाको माया, साथीभाइसँगको भेटघाट र तिहारको झिलिमिलीलाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरूले चाडपर्वका बेला परिवार र जन्मभूमिलाई गर्ने सम्झनालाई गीतले समेटेको छ।
गितमा सुमन केसी र रोजिना बस्नेतको स्वर रहेको छ। शब्द तथा संगीत रबिन रिमालले तयार पारेका हुन् भने गीतको एरेन्जमेन्ट, मिक्सिङ तथा मास्टरिङ सुमन केसीले गरेका छन्। गीतको रेकर्डिङ द पिक स्टुडियो (The Peak Studio) मा गरिएको जनाइएको छ।
रोबिन्ज सन्स (Robin’z Sons) को प्रस्तुतिमा सार्वजनिक गरिएको गीत अहिले विभिन्न सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत श्रोता–दर्शकमाझ पुगिरहेको छ।
नेपाली कला, संस्कृति र चाडपर्वलाई परदेशबाट पनि निरन्तरता दिने प्रयासस्वरूप तयार पारिएको यस गीतले दशैं–तिहारका बेला घरपरिवारबाट टाढा रहेका नेपालीहरूको मनमा आफ्नै गाउँघर, परिवार र बाल्यकालका सम्झनालाई पुनः ताजा बनाउने अपेक्षा गरिएको छ।
चाडपर्व केवल रमाइलो र उत्सव मात्र नभई परिवारसँगको सम्बन्ध, आत्मीयता र आफ्नो माटोप्रतिको प्रेमसँग पनि जोडिएको हुन्छ। यही भावनालाई संगीतमार्फत अभिव्यक्त गर्ने प्रयासका रूपमा ‘दशैं आयो तिहारै आयो’ लाई लिन सकिन्छ।
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
२५ वर्षे यात्राको उत्सव मनाउँदै लोक तथा दोहोरीगीत प्रतिष्ठान, ९औँ महाधिवेशन बर्दिबासमा
-
मुस्लिम संघको नेतृत्वदेखि कांग्रेस सहमहामन्त्रीको दाबीसम्म अब्दुल सत्तार