काठमाडौं । नेपाली कांग्रेसका नेता तथा इन्जिनियर दिपक बाबु कँडेलले पार्टीको केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेसको राजनीतिमा सक्रिय कँडेलले उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई राजनीतिको मुख्य एजेन्डा बनाउनुपर्ने धारणा अघि सारेका छन् ।
उनले युवालाई सीप र उद्यमशीलतासँग जोड्दै स्वदेशमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । स्थानीय उत्पादनलाई बजार तथा प्रविधिसँग जोड्ने र साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन् ।
कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने कँडेलको जोड छ । मुलुकमा आर्थिक अवसरको विस्तार गाउँदेखि केन्द्रसम्म समान रूपमा हुनुपर्ने उनको धारणा छ ।
विदेशबाट फर्किएका नेपालीसँग रहेको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने उनी बताउँछन् । युवाको सीप, स्थानीय उत्पादन, प्रविधि, पुँजी र बजारलाई एकआपसमा जोड्न सके मुलुकभित्रै रोजगारी र आर्थिक अवसर सिर्जना गर्न सकिने कँडेलको भनाइ छ ।
‘राजनीति पदका लागि मात्र होइन, समाज परिवर्तनका लागि हुनुपर्छ,’ कँडेलले भनेका छन्, ‘कांग्रेसलाई उत्पादन, रोजगारी, उद्यमशीलता र आर्थिक रूपान्तरणसँग जोडिएको राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्छ ।’
राजनीतिक नेतृत्व भाषण र आश्वासनमा मात्र सीमित नभई उत्पादन र रोजगारीका क्षेत्रमा प्रत्यक्ष परिणाम दिने नीति तथा कार्यक्रम निर्माणमा केन्द्रित हुनुपर्ने उनको धारणा छ ।
कँडेल यसअघि पनि कांग्रेसको केन्द्रीय राजनीतिमा प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन् । २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा उनी खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए । उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।
कँडेल गोरखाको पालुङटार नगरपालिकाका पूर्वनगरप्रमुखसमेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पालुङटार नगरपालिकाको मेयरमा निर्वाचित भएका उनले नगर प्रमुखका रूपमा विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरेको बताइन्छ ।
पछिल्लो समय प्रतिनिधिसभा निर्वाचनका लागि पनि कांग्रेस गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ कँडेलको नाम सिफारिस भएको थियो ।
स्थानीय तहको नेतृत्व गरिसकेका कँडेल अहिले पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय भूमिका खोजिरहेका छन् । कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने र गोरखाका स्थानीय मुद्दालाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउने विषयलाई उनले आफ्नो राजनीतिक प्राथमिकतामा राखेका छन् ।
युवाको सहभागिता र नयाँ पुस्ताको भूमिकालाई पार्टी संगठनमा थप प्रभावकारी बनाउनुपर्ने उनको धारणा छ । गोरखाका राजनीतिक तथा स्थानीय सवाललाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउँदै राष्ट्रिय तहमा स्थापित गर्नुपर्नेमा पनि उनले जोड दिँदै आएका छन् ।
कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजिरहेका कँडेलले आर्थिक रूपान्तरणलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै आएका छन् । उनको अभियानमा युवाको सीप, उद्यमशीलता, स्थानीय उत्पादन, प्रविधि, पुँजी र बजारलाई जोडेर आर्थिक अवसर विस्तार गर्ने विषय मुख्य रूपमा समेटिएको छ ।
‘उत्पादन बढाऔँ, उद्यमशीलता विकास गरौँ, रोजगारी सिर्जना गरौँ र सम्मानित नेपालीसहित समुन्नत नेपाल निर्माण गरौँ’ भन्ने नारासहित कँडेलले आफ्नो राजनीतिक अभियान अघि बढाएका छन् ।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी