पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको आगामी नेतृत्वका लागि गोरखा जिल्ला सभापति एवं प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
विद्यार्थी राजनीतिबाट पार्टी यात्रा सुरु गरेका न्यौपानेले नेपाल विद्यार्थी संघ गोरखाको दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेका थिए। पार्टीको जिल्ला सचिव हुँदै गोरखा जिल्ला सभापति बनेका उनीसँग संगठनका विभिन्न तहमा काम गरेको अनुभव छ।
गोरखा निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपानेले गण्डकी प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतक तथा प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
पार्टीको तल्लो तहदेखि संगठन निर्माणमा सक्रिय रहेको अनुभव, कार्यकर्ताको योगदानको उचित मूल्यांकन र संगठनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धतालाई उनले आफ्नो दाबेदारीको मुख्य आधार बनाएका छन्।
गण्डकी प्रदेश सभापतिका लागि वर्तमान सभापति शुक्रराज शर्मासहित विष्णुप्रसाद लामिछाने, डा. टकराज गुरुङ, कृष्ण केसी, विन्दुकुमार थापा र रमेशकुमार पाण्डेलगायतका नेताहरूको नाम पनि चर्चामा छ।
प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि तथा कार्यकर्ताको समर्थन, आन्तरिक समीकरण र नेताहरूबीचको सहमतिले आगामी नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। न्यौपानेको दाबेदारीसँगै गण्डकी कांग्रेसको आगामी नेतृत्व चयन थप चासोपूर्ण बनेको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग