logo

शनिबार, असोज २४ २०८३

kantipurpationlinetv

२०८३ असोज २४ शनिबार

१५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

१५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ


  • शनिबार, असोज २४ २०८३
  • 77
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए ।

    १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै थापाले कांग्रेसको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने बताए । महाधिवेशनमा प्रतिस्पर्धा भए पनि अब सबै नेता तथा कार्यकर्ता मिलेर नागरिकको विश्वास जित्न लाग्नुपर्ने उनको भनाइ थियो ।

    सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीसहित सबैलाई सँगै लिएर अघि बढ्ने बताउँदै थापाले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने उल्लेख गरे । नागरिक र कांग्रेसबीच टुटेको विश्वास पुनःस्थापित गर्न किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउनुपर्ने उनले बताए ।

    ‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ,’ थापाले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ ।’

    महाधिवेशनबाट पारित प्रतिवेदनमाथि सुझाव लिन एक साताको समय दिइएको जानकारी दिँदै उनले सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए । कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने स्पष्ट पार्दै थापाले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिए । कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो ।

    कांग्रेसलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउने उल्लेख गर्दै थापाले पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाटै परिवर्तन प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page