logo

आइतबार, मंसिर ७ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ७ आइतबार

चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम

चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम


  • आइतबार, मंसिर ७ २०८३
  • 9.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको आयोजनामा भएको ‘चौथो खेली रोईला दोहोरी प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। प्रतियोगितामा लाजिम्पाट समितिका सरोज सिम्खडा प्रथम भएका छन्।

    ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा १२ समूहका प्रतिस्पर्धीले भाग लिएका थिए।

    प्रतियोगितामा लाजिम्पाट समितिकै सविन आचार्य द्वितीय, कमलादी समितिका निशान्त विक तृतीय र नयाँ समितिकी जमुना सुनारले सान्त्वना स्थान हासिल गरेका छन्। त्यस्तै उत्कृष्ट गायकमा ललितपुर समितिका मानव रावत क्षेत्री र उत्कृष्ट गायिकामा अनामनगर समितिकी सबिता परियार छनोट भएका छन्।

    प्रतियोगिता लाजिम्पाट समितिकी अध्यक्ष सपना रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष पशुपति शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रममा प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष दुर्गा रायमाझी, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक खड्का, प्रथम उपाध्यक्ष सुवास केसी, उपाध्यक्ष रविन लामिछाने, महासचिव शिव हमाल, कोषाध्यक्ष जुना श्रीष मगर, सचिव सुजन लम्साल, केन्द्रीय सदस्य अर्जुन थापा मगर, मदन परियार र बालचन्द्र बराललगायतको उपस्थिति थियो।

    त्यसैगरी संस्कृतिविद् डा. तुलसीराम खनाल, उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछाने, सल्लाहकार लक्ष्मण मल्ल, उपत्यका समन्वयअन्तर्गतका १० वटै समितिका अध्यक्ष तथा प्रतिनिधि र विभिन्न क्षेत्रका कलाकारहरूको सहभागिता रहेको थियो।

    प्रतियोगिताको निर्णायक संयोजक प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष सुवास केसी थिए। निर्णायक समितिमा केन्द्रीय उपाध्यक्ष रविन लामिछाने, महासचिव शिव हमाल, कोषाध्यक्ष जुना श्रीष मगर र केन्द्रीय सदस्य सुजन लम्साल रहेका थिए। खेली गीतका अनुसन्धानकर्ता तथा संस्कृतिविद् डा. तुलसीराम खनाल जुरी निर्णायकका रूपमा सहभागी थिए।

    प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार, द्वितीय हुनेलाई ३१ हजार, तृतीय हुनेलाई २१ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको थियो। उत्कृष्ट गायक र गायिकालाई जनही दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

    कार्यक्रममा समितिका उपाध्यक्ष सविन आचार्यले स्वागत मन्तव्य राख्दै मौलिक लोकसंस्कृतिको संरक्षण र नयाँ प्रतिभाको पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको बताए। कार्यक्रमको सञ्चालन समितिका सचिव कृष्ण विश्वकर्माले गरेका थिए।

    नेपाली लोकसंगीतको मौलिक पहिचानका रूपमा रहेको खेली रोईला गीतको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। आधुनिक सांगीतिक प्रवृत्तिको प्रभाव बढिरहेका बेला परम्परागत लोकभाका र गायन शैलीलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने आयोजकको विश्वास छ।

    प्रतियोगिता सम्पन्न भएपछि अध्यक्ष सपना रोकाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, निर्णायक, कलाकार, प्रतिस्पर्धी, विभिन्न समिति तथा प्रतिनिधि, सहयोगी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरिन्। उनले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहनका लागि समितिले सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाइन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page