logo

शनिबार, असोज १७ २०८३

kantipurpationlinetv

२०८३ असोज १७ शनिबार

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा


  • शनिबार, असोज १७ २०८३
  • 98
    SHARES

    १७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    शर्माले शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्। बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यसहित आफूले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए।

    उनले पार्टीलाई दूरदराजमा रहेका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताएका छन्।

    ‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु,’ शर्माले भने।

    कांग्रेसको राजनीतिक विरासत र आफ्नो लामो राजनीतिक सम्बन्धबारे चर्चा गर्दै शर्माले आफू बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक धारासँग जोडिएको बताए। पार्टीको छवि र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले आफू महामन्त्रीको उम्मेदवार बन्न लागेको उनको भनाइ छ।

    शर्माले आफू कुनै निश्चित समूहको मात्र उम्मेदवार नभएको दाबी गर्दै देशभरबाट आउने महाधिवेशन प्रतिनिधिको साझा उम्मेदवारका रूपमा अघि बढ्ने बताएका छन्।

    महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुअघि शर्मा १५औँ महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। त्यहाँ खसेको ७९० सदर मतमध्ये शर्माले ६५० मत प्राप्त गरेका थिए।

    शर्मा २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइन्छ। उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा समेत पार्टीमा सक्रिय रहँदै आएका छन्। स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा पनि उनको संलग्नता रहँदै आएको छ।

    कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका लागि विभिन्न नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहित अन्य नेताहरू पनि महामन्त्री पदका आकांक्षीका रूपमा देखिएका छन्।

    शर्माको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धा थप चर्चामा आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page