logo

शुक्रबार, असोज ३० २०८३

kantipurpationlinetv

२०८३ असोज ३० शुक्रबार

पानी चुहिने घरदेखि अमेरिका पुगेर घर–गाडीसम्म: दोहोरीका महानायक शंकर बिसीको संघर्ष र सफलताको कथा

पानी चुहिने घरदेखि अमेरिका पुगेर घर–गाडीसम्म: दोहोरीका महानायक शंकर बिसीको संघर्ष र सफलताको कथा


  • शुक्रबार, असोज ३० २०८३
  • 0.7K
    SHARES

    काठमाडौं । नेपाली लोकदोहोरी म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक, अभिनेता तथा नृत्य निर्देशक शंकर बिसी यतिबेला चर्चामा छन्। केही दिनअघि उनले नेपाल, अमेरिका र आफ्नो जन्मस्थान नेपालगञ्जस्थित घरका तस्बिर सार्वजनिक गरेका थिए। विगतमा घरको छानो चुहिने अवस्थादेखि आजको सफलतासम्मको यात्रा स्मरण गर्दै उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले धेरैको ध्यान खिचेको छ। कला क्षेत्रमा निरन्तर मेहनत र लगनशीलताका साथ अघि बढे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा बिसीको यात्रालाई हेर्ने गरिएको छ।

    बिसीले नेपाली लोकदोहोरी म्युजिक भिडियोमा आधुनिक प्रस्तुति, फिल्मी शैलीको निर्देशन र आकर्षक नृत्य संयोजन भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनले निर्देशन, अभिनय तथा नृत्य निर्देशन गरेका थुप्रै गीत लोकप्रिय बनेका छन्। नेपालका मेला–महोत्सवदेखि विदेशका विभिन्न कार्यक्रममा समेत व्यस्त रहने उनी १८ देशमा पुगेर नेपाली कला र संस्कृतिलाई प्रस्तुत गरिसकेको बताउँछन्। लोकदोहोरी म्युजिक भिडियोलाई दर्शकमाझ थप आकर्षक बनाउन उनको योगदान रहेको कलाकारिता क्षेत्रका जानकारहरूको भनाइ छ।

    वि.सं. २०५१ मा एसएलसी दिएर काठमाडौं आएका बिसीले सुरुमा नृत्य निर्देशक कमल राईसँग नृत्य सिकेका थिए। त्यसपछि करिब ६० देखि ७० वटा चलचित्रमा समूह नर्तकका रूपमा काम गरे। उनले बसन्तजंग रायमाझी र कमल राईजस्ता वरिष्ठ नृत्य निर्देशकसँग सहायकका रूपमा काम गर्ने अवसर पनि पाए। ‘कहीँ मिलन कहीँ बिछोड’, ‘सन्तानको माया’, ‘माझीदाइ’ र ‘मेघा’ लगायत चलचित्रमा मुख्य नृत्य भूमिकामा देखिएका बिसीले पछि ‘बेरोजगार’ चलचित्रमा नायकका रूपमा समेत अभिनय गरे। वि.सं. २०६१/६२ तिर उनी म्युजिक भिडियो क्षेत्रमा सक्रिय भए।

    कृष्ण फिल्म्सको ‘पूर्वेली हे बैनी दन्ती मोहनी’ गीतबाट म्युजिक भिडियो यात्रा सुरु गरेका बिसी ‘सुपारी चाम्रो’ गीतमा अभिनय तथा नृत्य निर्देशन गरेपछि थप चर्चामा आए। उनले हालसम्म पाँच हजारदेखि पाँच हजार पाँच सयसम्म गीतमा अभिनय तथा छ हजारभन्दा बढी गीतमा नृत्य निर्देशन गरेको बताइन्छ। त्यस्तै, करिब ९२ वटा नेपाली चलचित्रमा नृत्य निर्देशन गरेका छन्। लोकदोहोरीतर्फ ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’, ‘पछ्यौरी लेउ बैना’, ‘देउरालीको भट्टी पसल’, ‘तिते करेली’, ‘ए काले दाइ’, ‘नजाऊ है सानु पँधेरीमा’, ‘काफल पाकेको’, ‘हातमा रातो झोला’, ‘रातो पछ्यौरी’, ‘अचम्मै राम्रो नाच्छे मोरीले’ र ‘लालाजी’ लगायत गीतमा उनले अभिनय तथा नृत्य निर्देशन गरेका छन्।

    चलचित्रका गीतमा समेत बिसीको नृत्य निर्देशनले चर्चा पाएको छ। उनले कोरियोग्राफी गरेको ‘सुर्के थैली खै’ गीतले करोड क्लबमा प्रवेश गरेपछि नेपाली चलचित्रका गीतको प्रस्तुति र लोकप्रियताबारे थप चर्चा भएको थियो। हाल अमेरिकामा रहेका बिसी बेलाबेला नेपाल आउने–जाने गर्छन्। नेपाली लोकदोहोरी म्युजिक भिडियो क्षेत्रमा लामो समय योगदान दिएका बिसीको संघर्ष, निरन्तरता र सफलताको यात्राले नयाँ पुस्ताका कलाकारलाई पनि प्रेरणा दिन सक्छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page