गोरखा । दसैँमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला गोरखा दरौँदी यातायात सेवा प्रालिका अध्यक्ष दीपक बोहोरा यात्रुको सेवामा दिनरात नभनी बसपार्कमै खटिएका छन्। यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउनेदेखि सवारी व्यवस्थापनलाई चुस्त बनाउनेसम्मका काममा उनी आफैँ सक्रिय देखिएका छन्।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत रहेका बोहोरा यातायात क्षेत्रको व्यवस्थापन र यात्रु सेवामा सक्रिय छन्। चाडपर्वका बेला यात्रुले टिकट नपाउने, अनावश्यक झन्झट बेहोर्नुपर्ने र गन्तव्यसम्म पुग्न कठिनाइ हुने समस्या कम गर्न उनले सेवा व्यवस्थापनलाई प्राथमिकता दिएका छन्।
गोरखा दरौँदी यातायात सेवा प्रालिले २९० वटा बस तथा माइक्रोबसमार्फत माछीखोला, भच्चेकदेखि पालुङटार, बारपाकलगायत गोरखाका विभिन्न स्थानमा यातायात सेवा सञ्चालन गरिरहेको छ। यात्रुको चापलाई ध्यानमा राख्दै प्रालिले अग्रिम टिकट बुकिङको सुविधासमेत उपलब्ध गराएको छ।
प्रालिका अनुसार दैनिकजसो एक हजार पाँच सयभन्दा बढी यात्रुले अग्रिम टिकट लिने गरेका छन्। यात्रुको बढ्दो चापका बीच टिकट वितरण र सवारी व्यवस्थापनलाई सहज बनाउन अध्यक्ष बोहोरा आफैँ बसपार्कमा खटिएर काम गरिरहेका छन्।
यातायात व्यवसायलाई केवल व्यावसायिक गतिविधिमा सीमित नराखी यात्रुको आवश्यकता, सुविधा र सहजतालाई प्राथमिकता दिनुपर्ने मान्यतासहित बोहोरा व्यवस्थापनमा सक्रिय देखिएका हुन्। जिम्मेवारी सम्हालेर कार्यालयमा मात्र बस्नुभन्दा यात्रुको प्रत्यक्ष सम्पर्कमा रहेर समस्या बुझ्ने र समाधानमा जुट्ने उनको सक्रियताले यात्रु सेवाप्रतिको प्रतिबद्धता झल्काउँछ।
‘सेवा सहज छ, व्यवस्थापन राम्रो छ र बिचौलियाको प्रवेश छैन,’ भन्दै यात्रुहरूले गोरखा दरौँदी यातायात सेवा प्रालिको व्यवस्थापनको प्रशंसा गरेका छन्।
दसैँमा घर फर्किने यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा उपलब्ध गराउने चुनौतीका बीच अध्यक्ष बोहोराको सक्रियता यातायात व्यवस्थापनको चर्चित पक्ष बनेको छ। यात्रुको चाप बढेका बेला आफैँ मैदानमा उत्रिएर सेवा सञ्चालनमा ध्यान दिनुले यात्रुप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेको देखिन्छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
चाडपर्वलाई लक्षित गर्दै ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन