logo

मंगलबार, भाद्र २३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २३ मंगलबार

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कमा दीप प्रज्वलन

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कमा दीप प्रज्वलन


  • मंगलबार, भाद्र २३ २०८३
  • 70
    SHARES

    काठमाडौं — राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको सम्झनामा काठमाडौंको नयाँ बसपार्कस्थित टेलिकम चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

    संघका अध्यक्ष दीपसागर थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष चुडाबहादुर कार्की, सल्लाहकार प्रेम श्रेष्ठ, नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक शंकर श्रेष्ठलगायत संघका पदाधिकारी, लोकदोहोरी व्यवसायी, कलाकार तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।

    कार्यक्रममा सल्लाहकार प्रेम श्रेष्ठले श्रद्धाञ्जली मन्तव्य राख्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकप्रति दुःख व्यक्त गरे। प्रहरी निरीक्षक शंकर श्रेष्ठले विपत्तिका समयमा सबै पक्षबीचको सहकार्य आवश्यक रहेको बताए। संघका संस्थापक अध्यक्ष चुडाबहादुर कार्कीले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरे।

    कार्यक्रममा सहभागीहरूले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।

    यसै क्रममा संघका कोषाध्यक्ष राम भण्डारीका बुवा र बुहारीसमेत बाढीका कारण बेपत्ता रहेको जनाउँदै उनीहरूको सम्झनामा विशेष श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    संघका अध्यक्ष दीपसागर थापा मगरले कार्यक्रममा उपस्थित व्यवसायी, कलाकार तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै प्राकृतिक विपत्तिका समयमा संघ पीडित नागरिकको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरे। उनले केही दिनअघि संघको टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा सहयोग गरेको जानकारी दिए।

    उनका अनुसार संघको टोली राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको थियो। आगामी दिनमा पनि थप राहत सामग्री लिएर देवीघाट क्षेत्रमा जाने तयारी रहेको उनले बताए।

    भोटेकोशी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा सरकारले देशभर राष्ट्रिय शोक घोषणा गरेको दिन संघले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो। देशका विभिन्न स्थानमा समेत दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी प्राकृतिक विपत्तिमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूप्रति सम्मान व्यक्त गरिएको थियो।

    कार्यक्रमको सञ्चालन संघका महासचिव नन्दु घर्ती मगरले गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page