logo

आइतबार, मंसिर १३ २०८३

kantipurpationlinetv

२०८३ मंसिर १३ आइतबार

बेलायतको राम्रो कमाइ छाडेर मेयर बन्न नेपाल फर्किँदै रूपेश काफ्ले

बेलायतको राम्रो कमाइ छाडेर मेयर बन्न नेपाल फर्किँदै रूपेश काफ्ले


  • शनिबार, मंसिर १२ २०८३
  • 1.3K
    SHARES

    बेलायतमा राम्रो आम्दानी र सहज जीवन बिताइरहेका रौतहटको फतुवा विजयपुर नगरपालिकाका रूपेश काफ्ले स्वदेश फर्किएर स्थानीय राजनीतिमा सक्रिय हुने तयारीमा छन्। उनले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा आफ्नै नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न आवेदनसमेत दिएका छन्।

    सन् २०२३ डिसेम्बरमा डिजिटल मार्केटिङ अध्ययनका लागि श्रीमती र एक वर्षीय छोरासहित बेलायत पुगेका काफ्लेको सुरुवाती यात्रा सहज थिएन। बेलायत पुगेको भोलिपल्टै छोरालाई बोकेर काम खोज्न निस्किएका उनले सुरुमा रोजगारी पाएनन्। पछि नेपाली रेस्टुरेन्ट भिन्तुना हुँदै ग्रिक खानाका लागि चर्चित रेस्टुरेन्ट गाया र त्यसपछि उत्पादन कम्पनीमा काम गरे। गाया रेस्टुरेन्टमा राम्रो तलब र सुविधा भए पनि दैनिक १५ घण्टासम्म काम गर्नुपर्ने बाध्यता थियो।

    आम्दानी राम्रो भए पनि परिवारलाई पर्याप्त समय दिन नसक्दा उनलाई जीवनमा पैसाभन्दा अरू कुरा पनि महत्वपूर्ण रहेछन् भन्ने महसुस भयो। केही समय नेपाल फर्किएर परिवारसँग बिताएका उनी पुनः बेलायत पुगे। अहिले पर्फ्युम तथा मालिस गर्ने तेललगायत सामग्री उत्पादन गर्ने कम्पनीको उत्पादन विभागमा कार्यरत छन्।

    बेलायत बसाइका क्रममा उनी रोजगारीमा मात्रै सीमित रहेनन्। अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको सांस्कृतिक सचिवका रूपमा नेपाली संस्कृति र परम्परा नयाँ पुस्तासम्म पुर्‍याउने गतिविधिमा पनि संलग्न भए। नेपाली समुदायको बाक्लो उपस्थिति रहेको अल्डरसटमा चाडपर्व, संस्कार र सांस्कृतिक कार्यक्रममार्फत समुदायलाई जोड्ने काममा उनी सक्रिय रहे।

    तर, अब काफ्ले बेलायतको रोजगारी र कमाइ छाडेर नेपाल फर्किने तयारीमा छन्। यसको पछाडि समाजका लागि केही गर्ने चाहना रहेको उनी बताउँछन्। तीन वर्षअघि जन्मदिनका अवसरमा समाजका लागि पनि योगदान गर्ने सपना देखेको स्मरण गर्दै उनले आफ्नै नगरपालिकाको विकास र सुशासनका लागि काम गर्ने निर्णय लिएको बताएका छन्।

    मेयर पदमा उम्मेदवारी दिने तयारीका क्रममा उनले नगरपालिकाका अग्रजहरूसँग छलफलसमेत गरिसकेका छन्। उनीहरूबाट सकारात्मक प्रतिक्रिया र हौसला पाएको उनको भनाइ छ। रास्वपाको उम्मेदवार प्रशिक्षण कार्यक्रम सुरु भएपछि नेपाल फर्किने उनको योजना छ।

    विदेशमा सिकेको सीप, ज्ञान र अनुभव स्वदेशमै उपयोग गर्ने काफ्लेको लक्ष्य छ। विदेश जानुलाई मात्र समस्याका रूपमा लिन नहुने उनको धारणा छ। विदेशमा शिक्षा र सीप हासिल गरेर स्वदेश फर्किई आफ्नै समाज र देशका लागि योगदान गर्न सके त्यसले सकारात्मक परिणाम दिने उनी बताउँछन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page