logo

बुधबार, असार ३१ २०८३

kantipurpationlinetv

२०८३ असार ३१ बुधबार

अन्तत: डिभिजन वन कार्यालय गोरखाले १२ किलो क्षेत्रको अवैध वन अतिक्रमण हटायो

अन्तत: डिभिजन वन कार्यालय गोरखाले १२ किलो क्षेत्रको अवैध वन अतिक्रमण हटायो


  • बुधबार, असार ३१ २०८३
  • 91
    SHARES

    गोरखा । गोरखा नगरपालिका–११ स्थित ‘१२ किलो’ क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वनभित्र लामो समयदेखि भएको अवैध अतिक्रमण डिभिजन वन कार्यालय गोरखाले हटाएको छ।

    कार्यालयका अनुसार सार्वजनिक सूचना जारी गरेपछि अधिकांश अतिक्रमणकारीले आफ्ना संरचना स्वेच्छिक रूपमा हटाएका थिए। बाँकी रहेका संरचनाहरू भने जेसीबी तथा एक्साभेटरको प्रयोग गरी हटाइएको हो।

    अतिक्रमण हटाइएसँगै वन क्षेत्रको संरक्षणका लागि तत्कालै फेन्सिङ (तारबार) का लागि पोल गाड्ने तथा सरसफाइ गर्ने कार्यसमेत सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

    डिभिजन वन कार्यालय गोरखाका कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले वन क्षेत्रको संरक्षण, जैविक विविधताको संवर्द्धन तथा सार्वजनिक सम्पत्तिको दिगो व्यवस्थापनका लागि अतिक्रमण नियन्त्रण अपरिहार्य रहेको बताए। उनले स्थानीय समुदाय, जनप्रतिनिधि तथा सम्बन्धित निकायको समन्वय र सहयोगका कारण अभियान सफल भएको उल्लेख गर्दै वन संरक्षणका यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।

    अतिक्रमण हटाउने अभियानमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), गोरखा नगरपालिका, स्थानीय जनप्रतिनिधि, डिभिजन तथा सब–डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय समुदायले सहयोग गरेका थिए। सरसफाइ अभियानमा ट्रक तथा जनशक्ति परिचालन गरी सहयोग गरेको क्लिन गोरखा परिवारप्रति पनि कार्यालयले आभार व्यक्त गरेको छ।

    डिभिजन वन कार्यालयका अनुसार वन अतिक्रमण नियन्त्रणसँगै सार्वजनिक वन क्षेत्रको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page