logo

शनिबार, कार्तिक १ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक १ शनिबार

घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल

घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल


  • शनिबार, कार्तिक १ २०८३
  • 0.7K
    SHARES

    पोखरा — कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुकमा सुविधा सम्पन्न आरजे बुटिक होटल एण्ड स्पा सञ्चालनमा आएको छ। अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा आउने गुणस्तरीय पर्यटकलाई लक्षित गरी बिहीबारदेखि होटल सञ्चालनमा ल्याइएको हो।

    करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको होटलले घान्द्रुकमा उच्चस्तरीय पर्यटकीय सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। होटलका प्रबन्ध निर्देशक जितु गुरुङका अनुसार पोखरामा बरपीपल रिसोर्ट सञ्चालन गर्दै आएका उनले घान्द्रुकका स्थानीय खेमबहादुर गुरुङसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएका हुन्।

    होटलमा हाल २५ वटा डिलक्स प्रिमियम कोठा छन्। सबै कोठाबाट अन्नपूर्ण, हिमचुली र माछापुच्छ्रे लगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। प्रत्येक कोठामा निजी बालकोनीको व्यवस्था गरिएको छ भने सबै कोठामा वातानुकूलित प्रणाली (एसी) जडान गरिएको छ।

    करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा एकैपटक ११० जनालाई सेवा दिन सक्ने क्षमताको रेस्टुरेन्ट छ। पाहुनाको आराम र मनोरञ्जनलाई ध्यानमा राख्दै होटलमा विशेष बार, साउना तथा स्पाको समेत व्यवस्था गरिएको छ।

    होटल निर्माणको काम सन् २०१९ देखि सुरु भएको थियो। घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकलाई स्तरीय आवास तथा आतिथ्य सेवा उपलब्ध गराउने उद्देश्यले होटल निर्माण गरिएको सञ्चालकहरूको भनाइ छ।

    होटलका अध्यक्ष खेमबहादुर गुरुङले आफ्नो जन्मथलोमा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने लामो समयदेखिको चाहना पूरा भएको बताए। पैतृक जमिन बाँझो राख्नुभन्दा त्यसलाई पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिसँग जोड्ने उद्देश्यले लगानी गरेको उनको भनाइ छ।

    ‘घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरमा बर्सेनि लाखौँ पर्यटक जान्छन्। तर, सुविधा सम्पन्न होटलको अभावमा गुणस्तरीय पर्यटकको बसाइ लम्ब्याउन सकिएको थिएन,’ उनले भने, ‘त्यही आवश्यकता महसुस गरेर हामीले बुटिक होटल निर्माण गरेका हौँ।’

    सिङ्गापुर प्रहरीमा इन्स्पेक्टरका रूपमा सेवा निवृत्त भएका खेमबहादुर हाल बेलायतमा बसोबास गर्दै आएका छन्। आफ्नो जन्मथलोमा पर्यटन पूर्वाधार विकासमा योगदान पुर्‍याउने उद्देश्यले उनले होटलमा लगानी गरेका हुन्।

    प्रबन्ध निर्देशक गुरुङका अनुसार होटलमा पाहुनालाई अर्गानिक खाना उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। पोखरामा रहेको बरपीपल अर्गानिक एग्रो फार्ममा उत्पादन हुने तरकारी, दूध, अण्डालगायत खाद्य सामग्री होटलमा प्रयोग गरिने उनले बताए।

    ‘पर्यटकलाई गुणस्तरीय खाना खुवाउन हामीले कुनै कसर बाँकी राखेका छैनौँ,’ उनले भने।

    घान्द्रुक अन्नपूर्ण क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यहाँबाट अन्नपूर्ण आधार शिविरलगायतका पदयात्रा मार्गमा जाने पर्यटकको आवागमन हुने गरेको छ। नयाँ होटल सञ्चालनमा आएसँगै यस क्षेत्रमा स्तरीय आवास, खानपान तथा विश्राम सेवाको विकल्प थपिएको छ।

    होटल व्यवस्थापनले आगामी दिनमा कोठाको सङ्ख्या बढाएर ५० पुर्‍याउने र थप हल निर्माण गर्ने योजना पनि अघि सारेको छ। यसबाट पर्यटकको बसाइ सहज बनाउनुका साथै सभा, सम्मेलन तथा अन्य कार्यक्रम आयोजना गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page