logo

बिहिबार, असार ३२ २०८३

kantipurpationlinetv

२०८३ असार ३२ बिहिबार

पर्यटन शुल्कले फेरियो चुमनुब्रीको आर्थिक अवस्था, तीन वर्षमै ११ लाखबाट २ करोड १८ लाख पुग्यो आन्तरिक राजश्व

पर्यटन शुल्कले फेरियो चुमनुब्रीको आर्थिक अवस्था, तीन वर्षमै ११ लाखबाट २ करोड १८ लाख पुग्यो आन्तरिक राजश्व


  • बिहिबार, असार ३२ २०८३
  • 2.6K
    SHARES

    गोरखा — उत्तरी गोरखाको विकट हिमाली भूभागमा रहेको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजश्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ। तीन वर्षअघि वार्षिक ११ लाख १२ हजार रुपैयाँ मात्रै आन्तरिक राजश्व संकलन गरेको गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा २ करोड १८ लाख रुपैयाँ राजश्व संकलन गरेको हो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकबाट पर्यटन शुल्क संकलन सुरु गरेपछि गाउँपालिकाको आन्तरिक आम्दानीमा उल्लेखनीय वृद्धि भएको हो।

    गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ देखि मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले पर्यटन शुल्क उठाउँदै आएको छ। सोही आर्थिक वर्षमा गाउँपालिकाले १ करोड ४९ लाख ५६ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको थियो। आर्थिक वर्ष २०८०/०८१ मा २७ लाख १४ हजार रुपैयाँ र २०७९/०८० मा ११ लाख १२ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो।

    लामिछानेका अनुसार पर्यटन शुल्क मात्रै होइन, राजश्व प्रशासनमा गरिएको सुधारले पनि आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। गाउँपालिकाले नदीजन्य सामग्री उत्खननबाट उठ्ने करलाई अनलाइन प्रणालीमार्फत संकलन गर्न थालेपछि राजश्व चुहावट नियन्त्रण हुनुका साथै कर संकलन थप पारदर्शी र प्रभावकारी बनेको छ।

    ‘पहिले चिट काटेर कर उठाउने व्यवस्था हुँदा राजश्व चुहावटको जोखिम थियो,’ उनले भने, ‘अहिले अनलाइन प्रणाली लागू गरेपछि कर संकलन व्यवस्थित र पारदर्शी भएको छ।’

    गाउँपालिकाले गत आर्थिक वर्षदेखि कार्यालयबाटै व्यवसाय दर्ता गर्ने तथा स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने सेवा पनि सुरु गरेको छ। यसले करको दायरा विस्तार हुनुका साथै आन्तरिक राजश्व वृद्धिमा थप टेवा पुगेको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए।

    गाउँपालिका अध्यक्ष निमा लामाले पर्यटन शुल्क लागू भएपछि गाउँपालिकाको आर्थिक आधार बलियो बन्दै गएको बताए। उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ मा ३ करोड रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ।

    ‘आन्तरिक राजश्व जति बढ्छ, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान र वित्तीय क्षमता पनि त्यति नै मजबुत हुन्छ,’ अध्यक्ष लामाले भने, ‘त्यसैले राजश्व वृद्धि स्थानीय विकासको महत्वपूर्ण आधार हो।’

    उनका अनुसार पर्यटन शुल्कबाट प्राप्त हुने राजश्वको ठूलो हिस्सा मनास्लु क्षेत्रको पर्यटन पूर्वाधार विकास, पदमार्ग संरक्षण, पर्यटकमैत्री सेवा विस्तार तथा स्थानीय विकासका योजनामा लगानी गरिनेछ।

    मनास्लु पदमार्ग नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। पछिल्ला वर्षहरूमा पर्यटक आगमन बढ्दै जाँदा त्यसबाट स्थानीय तहले समेत प्रत्यक्ष लाभ लिन थालेको चुमनुब्री गाउँपालिकाको राजश्व वृद्धिले देखाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page