काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटसँगै नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम, नगर विकास योजना र आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पनि सार्वजनिक गरेको हो ।
नगर प्रमुख मिठाराम अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, वातावरण संरक्षण, सामाजिक सुरक्षा, सूचना प्रविधि तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिइयो ।
नगर प्रमुख अधिकारीले स्थानीय आवश्यकता, नागरिकका सुझाव र उपलब्ध स्रोत–साधनलाई आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको बताउँदै विकास योजनालाई प्रभावकारी, पारदर्शी र परिणाममुखी ढंगले कार्यान्वयन गरिने बताए ।
उपप्रमुख अनिता लामाले समावेशी विकास, सामाजिक न्याय र महिला सशक्तीकरणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताइन् । उनका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर प्रवक्ता नवराज भट्टराई, १३ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यसैबीच उत्कृष्ट कार्यसम्पादनका आधारमा वडा नं. ४, वडा नं. ८ र वडा नं. १३ लाई सम्मान गरिएको छ । अवकाश प्राप्त नगरपालिकाका कर्मचारीहरूलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नगरपालिकाको आर्थिक अवस्था, राजस्व परिचालन र विकास खर्चका प्रमुख सूचकहरू पनि सार्वजनिक गरिएको छ।

-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला