गोरखा — मनास्लु संरक्षण क्षेत्र आयोजनाले (एमक्याप) चुमनुब्री गाउँपालिका–७ अन्तर्गतको घो–छेकम्पार पदमार्गमा स्तरोन्नति कार्य सञ्चालन हुने भएकाले पाँच दिनका लागि खच्चड आवतजावत बन्द गर्ने भएको छ।
आयोजनाले जारी गरेको सूचनाअनुसार साउन ५ गतेदेखि ९ गतेसम्म उक्त पदमार्गमा संरक्षण क्षेत्र व्यवस्थापन समिति छेकम्पारमार्फत ढलान (पेभिङ) कार्य सञ्चालन गरिने भएकाले सो अवधिभर खच्चडको ओहोरदोहोर पूर्ण रूपमा रोक लगाइएको हो।
एमक्यापका कार्यालय प्रमुख भुवनराज ओझाद्वारा जारी सूचनामा निर्माण कार्यको गुणस्तर कायम गर्न, सुरक्षा सुनिश्चित गर्न तथा स्तरोन्नति कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न उक्त निर्णय गरिएको उल्लेख छ।
आयोजनाले खच्चड धनी, व्यवसायी तथा सम्बन्धित सबै सरोकारवालालाई तोकिएको अवधिभर उक्त मार्गमा खच्चड आवतजावत नगर्न अनुरोध गरेको छ। निर्माण कार्यका कारण हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आयोजनाले स्थानीय पर्यटन पूर्वाधार सुदृढीकरणका लागि सञ्चालन गरिएको यस कार्यमा सबै पक्षको सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।
घो–छेकम्पार पदमार्ग मनास्लु पदयात्रा मार्गअन्तर्गत पर्ने महत्वपूर्ण खण्ड हो। दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तु ढुवानीका लागि खच्चड नै मुख्य यातायातको माध्यम भएकाले पाँच दिनका लागि आवतजावत बन्द हुँदा स्थानीय व्यवसाय तथा आपूर्ति व्यवस्थापनमा केही प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
आयोजनाका अनुसार निर्धारित अवधिभित्र निर्माण कार्य सम्पन्न गरी पदमार्ग पुनः सञ्चालनमा ल्याइनेछ। सूचना चुमनुब्री गाउँपालिका, इलाका प्रहरी कार्यालय आरुघाट, संरक्षण क्षेत्र व्यवस्थापन समिति छेकम्पार, प्रहरी चौकी छेकम्पार तथा अन्य सम्बन्धित निकायलाई समेत पठाइएको जनाएको छ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने