logo

बुधबार, साउन ६ २०८३

kantipurpationlinetv

२०८३ साउन ६ बुधबार

बारम्बार विद्युत् समस्या झेल्दै आएको आँपपीपल अस्पतालमा १०० केभीएको सार्वजनिक ट्रान्सफर्मर जडान

बारम्बार विद्युत् समस्या झेल्दै आएको आँपपीपल अस्पतालमा १०० केभीएको सार्वजनिक ट्रान्सफर्मर जडान


  • बुधबार, साउन ६ २०८३
  • 1K
    SHARES

    गोरखा — विद्युत् आपूर्तिमा बारम्बार समस्या भोग्दै आएको गोरखाको आँपपीपल अस्पतालमा १०० केभीएको सार्वजनिक ट्रान्सफर्मर जडान गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, गोरखाको समन्वयमा जडान गरिएको नयाँ ट्रान्सफर्मरले अस्पतालसँगै आसपासका बासिन्दालाई समेत भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    यसअघि अस्पतालले आफ्नै ५० केभीएको निजी ट्रान्सफर्मरमार्फत विद्युत् सेवा लिँदै आएको थियो। तर उक्त ट्रान्सफर्मर पटक–पटक बिग्रिने, मर्मतसम्भारमा ठूलो खर्च लाग्ने तथा विद्युत् अवरुद्ध हुँदा लामो समयसम्म डिजेल जेनेरेटर सञ्चालन गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ। यसका कारण अस्पतालको नियमित तथा आकस्मिक स्वास्थ्य सेवा प्रभावित हुनुका साथै सञ्चालन खर्चसमेत बढ्दै गएको थियो।

    सोही समस्याको दीर्घकालीन समाधानका लागि अस्पतालले आफ्नो निजी ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरण, गोरखालाई हस्तान्तरण गरेको हो। त्यसको सट्टामा प्राधिकरणले १०० केभीएको सार्वजनिक ट्रान्सफर्मर जडान गरेको जनाएको छ।

    नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएपछि अस्पतालमा निरन्तर र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित हुने, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सेवा अवरुद्ध नहुने र डिजेल जेनेरेटरमा हुने खर्चसमेत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसबाट अस्पतालका सेवाग्राहीसँगै आसपासका स्थानीयवासी पनि प्रत्यक्ष लाभान्वित हुनेछन्।

    अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वतीदेवी पाठकले सार्वजनिक ट्रान्सफर्मर जडानसँगै अस्पतालले लामो समयदेखि भोग्दै आएको विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्।

    उनले भरपर्दो विद्युत् आपूर्ति स्वास्थ्य सेवाको आधारभूत आवश्यकता भएकाले नयाँ ट्रान्सफर्मर जडानले आकस्मिक उपचारसहित सम्पूर्ण स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन्।

    “यसबाट अस्पतालको सञ्चालन खर्च घट्नुका साथै सेवाग्राहीलाई थप गुणस्तरीय सेवा दिन सहज हुनेछ। अस्पतालसँगै स्थानीय समुदायले पनि स्थिर विद्युत् सेवा पाउने भएकाले यो सबैका लागि लाभदायी उपलब्धि हो,” अध्यक्ष पाठकले भनिन्।

    अस्पतालले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकासलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page