logo

आइतबार, असोज २५ २०८३

kantipurpationlinetv

२०८३ असोज २५ आइतबार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना


  • आइतबार, असोज २५ २०८३
  • 5.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनबाट गोरखाका तीनजना कलाकार केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा सम्पन्न महाधिवेशनबाट गोरखाको भीमसेन थापा गाउँपालिकाका लोकदोहोरी गायक रविन लामिछाने उपाध्यक्षमा तथा बारपाक सुलिकोट गाउँपालिकाका प्रकाश भट्ट सचिव र सुमन परियार केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    रविन लामिछाने : लाइभ दोहोरीबाट पहिचान बनाएका गायक उपाध्यक्षमा

    गोरखाको भीमसेन थापा गाउँपालिकाका रविन लामिछाने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको उपाध्यक्षमा सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । लाइभ दोहोरी गायनमा आफ्नो छुट्टै पहिचान बनाएका लामिछाने ‘लाइभ दोहोरीका किङ’का रूपमा परिचित छन् । तत्कालै शब्द मिलाएर सवाल–जवाफ गर्ने, मौलिक लोकभाकामा प्रस्तुति दिने र दोहोरीलाई रोचक बनाउने उनको शैलीले दर्शक तथा श्रोतामाझ लोकप्रिय बनाएको छ । ‘पछ्यौरी लिस्यो’, ‘तारासँगै जुन’, ‘घडी’, ‘नेपालमा रेल कहिले आउला’ र ‘गोरखा घर काठमाडौँ डेरा’ लगायतका गीत तथा विभिन्न कलाकारसँगका लाइभ दोहोरी प्रस्तुतिमार्फत उनले आफ्नो सांगीतिक पहिचान विस्तार गरेका छन् । उनी राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताका विजेतासमेत हुन् । यसअघि २०७८ सालमा प्रत्यक्ष दोहोरी कलाकार संघको अध्यक्ष बनेका लामिछानेको प्रतिष्ठानको उपाध्यक्षमा भएको निर्वाचनलाई लोकदोहोरी क्षेत्रमा उनको सक्रियताको निरन्तरताका रूपमा हेरिएको छ ।

    प्रकाश भट्ट : हजारौँ गीत निर्देशन गरेका अनुभवी निर्देशक सचिवमा

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका निवासी प्रकाश भट्ट राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । गण्डकी प्रदेश भूगोलतर्फबाट सचिवमा निर्वाचित भट्ट नेपाली लोकदोहोरी तथा सांगीतिक क्षेत्रका अनुभवी निर्देशक हुन् । उनी लामो समयदेखि गीतसंगीतको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनका निर्देशनमा तयार भएका हजारौँ गीतले नेपाली लोकदोहोरी क्षेत्रमा स्थान बनाएका छन् । गीतको भाव, कथावस्तु र लोकसंस्कृतिलाई दृश्यमा उतार्ने काममा सक्रिय भट्टले सांगीतिक सिर्जनालाई दर्शकसमक्ष पुर्‍याउन योगदान गर्दै आएका छन् । प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित भएसँगै उनले संस्थागत रूपमा लोक तथा दोहोरीगीतको संरक्षण, प्रवर्द्धन र कलाकारको हकहितका क्षेत्रमा काम गर्ने जिम्मेवारी पाएका छन् ।

    सुमन परियार : सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका लोकदोहोरी गायक सुमन परियार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित विजयी भएका छन् । लोकदोहोरी गायनमा सक्रिय परियार आफ्ना सांगीतिक प्रस्तुति र दोहोरी गायनका कारण दर्शक तथा श्रोतामाझ परिचित छन् । नेपाली लोकभाका, मायाप्रेम र जनजीवनका भाव समेटिएका गीत तथा दोहोरी प्रस्तुतिमार्फत उनले सांगीतिक यात्रा अघि बढाउँदै आएका छन् । प्रतिष्ठानको केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गर्नुले संस्थाको नयाँ कार्यसमितिमा उनको प्रतिनिधित्व स्थापित गरेको छ । केन्द्रीय सदस्यका रूपमा निर्वाचित परियारले लोकदोहोरी क्षेत्रको विकास, मौलिक लोकसंस्कृतिको संरक्षण र कलाकारबीच सहकार्य विस्तारमा भूमिका खेल्ने अवसर पाएका छन् ।

    प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनबाट गायक पशुपति शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, संगठनात्मक उपाध्यक्षमा राजु ढकाल र प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई चयन भएका छन् । महिला उपाध्यक्षमा देवी घर्ती निर्वाचित भएकी छन् भने खुला उपाध्यक्षमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा र रविन लामिछाने चयन भएका छन् ।

    त्यस्तै, महासचिवमा शिव हमाल, संगठनात्मक उपमहासचिवमा पीएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल, कोषाध्यक्षमा जुना श्रीष मगर र महिला सचिवमा सम्झना लामिछाने मगर चयन भएका छन् । प्रदेश तथा अन्य सचिव पदमा बागमतीबाट उषा सुवेदी, मधेसबाट कृष्णप्रसाद गौतम, सुदूरपश्चिमबाट नवीन सिंह धामी, गण्डकीबाट प्रकाश भट्ट, लुम्बिनीबाट प्रेम शर्मा, कोशीबाट विष्णु घिमिरे, कर्णालीबाट राजकुमार खत्री, उपत्यकाबाट सुजन लम्साल र विदेशबाट सूर्य खड्का चयन भएका छन् ।

    संगठनात्मक सहसचिवमा कुमार राना मगर, प्रशासनिक सहसचिवमा तिलक परियार, महिला सहसचिवमा मनमाया वाइबा र विदेश सहसचिवमा रेशम निर्दोष चयन भएका छन् । खुला सहकोषाध्यक्षमा कुमार पुन मगर र सम्झना भण्डारी तथा महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ चयन भएका छन् ।

    महाधिवेशनबाट ३३ जना सदस्यसमेत चयन भएका छन् । सदस्यमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाईं, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कविता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार, शान्तारानी परियार, ईश्वरप्रसाद पन्त, तुलसी क्षेत्री, दिपु मगर, बालकुमार श्रेष्ठ, बासुदेव सिंखडा, लालबहादुर धामी, हरिमाया कार्की, अर्जुन थापामगर, विजय केसी र महेन्द्र न्यौपाने चयन भएका छन् ।

    प्रतिष्ठानले नयाँ नेतृत्वमार्फत नेपाली लोक तथा दोहोरीगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारको हकहितका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page