logo

शुक्रबार, कार्तिक १४ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक १४ शुक्रबार

नेपाल संवत् ११४७ को अवसरमा ललितपुरमा साताव्यापी कार्यक्रम

नेपाल संवत् ११४७ को अवसरमा ललितपुरमा साताव्यापी कार्यक्रम


  • शुक्रबार, कार्तिक १४ २०८३
  • 91
    SHARES

    ललितपुर: नेपालभाषा मंकाः खलः यलले नेपाल संवत् ११४७ को अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गर्ने भएको छ । न्हूदँ समारोह समितिले बुद्धिचाल प्रतियोगिता, राष्ट्रव्यापी खुला १० किलोमिटर दौड, ३० किलोमिटर साइकल र्‍यालीलगायत सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

    मंकाः खलःको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको कार्यक्रमअनुसार कात्तिक १८ र १९ गते बुद्धिचाल प्रतियोगिता, कात्तिक २३ गते राष्ट्रव्यापी खुला १० किलोमिटर दौड तथा कात्तिक २४ गते ३० किलोमिटर साइकल र्‍याली आयोजना हुनेछ ।

    नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक अवसरको स्मरणमा न्हूदँ समारोह आयोजना गर्न लागिएको हो । समारोहमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा न्हूदँ समारोह तथा भिंतुना सांस्कृतिक र्‍याली आयोजना गरिने समारोहका सचिव सञ्जय राजोपाध्यायले जानकारी दिनुभयो ।

    न्हूदँको अवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्यान्डल वाक, दीप प्रज्वलन, शुभकामना आदानप्रदान तथा सांगीतिक साँझलगायत कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
    यसैगरी, नेपाल संवत् ११४७ को अवसरमा क्रोध शिरोमणि कालु कुमालेले सिर्जना गरेको ‘क्रोधकृति’ आवरणमा समेटिएको नेपालभाषाको पात्रो प्रकाशन गरिनेछ । नेपालभाषाको वर्णमाला तथा म्हःपूजाको तान्त्रिक विधि समेटिएको पुस्तिका पनि प्रकाशन गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

    साताव्यापी कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समारोहका सभाध्यक्ष भीमनारायण नकर्मी, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा डा. पुष्पराज राजकर्णीकारले सहभागीका जिज्ञासाको सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रमको संयोजन नेपालभाषा मंकाः खलः यलले गर्ने अध्यक्ष महेन्द्रलाल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नं. १६ को आर्थिक सहयोग तथा सहकार्य रहनेछ ।
    पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर महर्जन, वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्य तथा सल्लाहकार किरण शाक्यको उपस्थिति थियो । कार्यक्रम सञ्चालन मंकाः खलःका सचिव राजु ताम्राकारले गर्नुभएको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page