logo

बिहिबार, मंसिर ११ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ११ बिहिबार

अमेरिकामा गोरखाका प्रकाशबाबु थापा सामाजिक अभियन्ता तथा सांस्कृतिक दूतका रूपमा सम्मानित

अमेरिकामा गोरखाका प्रकाशबाबु थापा सामाजिक अभियन्ता तथा सांस्कृतिक दूतका रूपमा सम्मानित


  • बिहिबार, मंसिर ११ २०८३
  • 3.5K
    SHARES

    गोरखा । गोरखाको बुंकोटका प्रकाशबाबु थापा अमेरिकामा सामाजिक अभियन्ता तथा सांस्कृतिक दूतका रूपमा सम्मानित भएका छन्। न्यूयोर्क राज्यको एसेम्ब्ली डिस्ट्रिक्ट–३० का सदस्य स्टेभन रागाले थापालाई सामाजिक अभियान र शान्ति स्थापनामा पुर्‍याएको योगदानको कदर गर्दै ‘सोसियल एक्टिभिस्ट एन्ड कल्चरल एम्बेस्डर’ को प्रमाणपत्र प्रदान गरेका हुन्।

    लामो समयदेखि समाजमा शान्ति स्थापनाका लागि स्वयंसेवकका रूपमा सक्रिय थापा युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा पनि क्रियाशील छन्। उनले युवा सशक्तीकरण तथा नेतृत्व विकाससम्बन्धी विषयमा अमेरिकामा दुई वर्ष प्रशिक्षण लिएका थिए। त्यसपछि नेपाल फर्किएर दशकौँदेखि युवा अभियान, सामाजिक जागरण र सामुदायिक गतिविधिमा काम गर्दै आएका छन्।

    समाजशास्त्रीय अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधिमा समेत संलग्न थापा नेपाली कला, साहित्य, सञ्चार र सामाजिक अभियानमा परिचित छन्। उनले नेपाल टेलिभिजन र न्यूज ट्वान्टीफोर टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरेका थिए। नेपाली गीतसङ्गीत क्षेत्रमा गीतकारका रूपमा समेत योगदान दिएका उनी लेखन र अभिव्यक्तिमार्फत सामाजिक विषयवस्तु उठाउँदै आएका छन्।

    हाल थापा युनिभर्सल पिस फेडेरेसन (युपिएफ इन्टरनेसनल) अन्तर्गत दक्षिण एसिया क्षेत्रीय निर्देशकका रूपमा कार्यरत छन्। उक्त जिम्मेवारीमा रहेर उनले दक्षिण एसियाली क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वशान्ति प्रवर्द्धनसम्बन्धी विभिन्न गतिविधि र अभियानको नेतृत्व तथा समन्वय गर्दै आएका छन्।

    अमेरिकामा प्रदान गरिएको यो सम्मानलाई नेपाली कला, संस्कृति, सञ्चार, साहित्य, अनुसन्धान तथा सामाजिक अभियानमा सक्रिय व्यक्तित्वको योगदानको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ। यसले अमेरिकी समुदाय र नेतृत्वमाझ नेपाली समुदायको सामाजिक तथा सांस्कृतिक योगदानलाई थप परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page