काठमाडौं। बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र का चिकित्सक तथा प्राध्यापकहरूको टोली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उज्बेकिस्तान प्रस्थान गरेको छ।
कलेजका अनुसार टोली सन् २०२६ मार्च १७ देखि १९ सम्म उज्बेकिस्तानमा आयोजना हुने टाउको तथा घाँटीसम्बन्धी क्यान्सर उपचार तथा सौन्दर्यसम्बन्धी शल्यचिकित्सा विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन दिल्ली हुँदै उज्बेकिस्तान प्रस्थान गरेको हो।
टोलीमा अस्पतालका संस्थापक अध्यक्ष बुद्धिमान श्रेष्ठ, डा. प्रतिक्षा श्रेष्ठ लगायतका चिकित्सक तथा प्राध्यापकहरू सहभागी रहेका छन्।
उक्त सम्मेलनमा विश्वका विभिन्न देशबाट सहभागी हुने प्रतिष्ठित विशेषज्ञ चिकित्सक, शल्यचिकित्सक तथा अनुसन्धानकर्ताहरूले टाउको तथा घाँटीको क्यान्सर उपचारका आधुनिक प्रविधि, जटिल शल्यक्रिया, अंग पुनःनिर्माणसम्बन्धी उपचार विधि तथा सौन्दर्यसम्बन्धी शल्यचिकित्साका नवीनतम अभ्यासबारे अनुभव, अनुसन्धान तथा ज्ञान आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ।
कलेजका अनुसार यस अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चिकित्सकहरूको सहभागिताले विश्वस्तरीय ज्ञान, नवीन प्रविधि तथा उपचार पद्धतिहरू नेपालमा भित्र्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। सम्मेलनबाट प्राप्त अनुभव र सीपलाई स्वदेशमा प्रयोग गर्दै बिरामीलाई अझ सुरक्षित, प्रभावकारी तथा आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य टोलीले राखेको जनाएको छ।

बसुन्धारामा अवस्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र वि.सं. २०६४ सालमा काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा स्थापना भएको नेपालको पहिलो दन्त कलेज हो। यस कलेजमा सन् २०१४ देखि स्नातकोत्तर तहको दन्त चिकित्सा अध्ययन कार्यक्रम सञ्चालन हुँदै आएको छ र हाल नौवटै विभागमा अध्ययन–अध्यापन भइरहेको छ।
कलेज तथा शिक्षण अस्पतालका प्राध्यापक तथा विशेषज्ञ चिकित्सकहरूले मुख तथा दन्त स्वास्थ्यको क्षेत्रमा विभिन्न खोज तथा अनुसन्धानमूलक कार्यहरू गर्दै आएका छन्। यस्ता अनुसन्धानहरू विश्वविद्यालय अनुदान आयोग, प्रदेश सरकार तथा विभिन्न देशका विश्वविद्यालयहरूसँगको सहकार्यमा सञ्चालन हुँदै आएका छन्, जसमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहने गरेको छ।
विद्यार्थीहरूलाई विश्वस्तरीय व्यवहारिक ज्ञान प्रदान गर्न कलेजले दक्ष प्राध्यापक, आधुनिक उपकरण, अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग शैक्षिक आदान–प्रदान कार्यक्रम तथा समुदायस्तरका दन्त स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ। यस कलेजबाट उत्पादन भएका चिकित्सकहरू नेपाल मात्र नभई विभिन्न विकसित मुलुकहरूमा समेत सफलतापूर्वक कार्यरत रहेको बताइन्छ।
-
चुनावी परिणामपछि प्रकाशचन्द्र दवाडीको सन्देश: गोरखाको विकासमा सधैँ साथ रहने प्रतिबद्धता
-
जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम
-
गोरखा–२ मा कांग्रेस–प्रलोपा संयुक्त प्रचार, घरदैलो अभियान तीव्र
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
प्रधानमन्त्री कार्कीको अपिल- फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान गर्नुस्