logo

बुधबार, असार ३१ २०८३

kantipurpationlinetv

२०८३ असार ३१ बुधबार

पर्यटन प्रवर्द्धनमा सरकारले तीव्र गतिमा काम गरिरहेको छ : प्रधानमन्त्री बालेन्द्र शाह

पर्यटन प्रवर्द्धनमा सरकारले तीव्र गतिमा काम गरिरहेको छ : प्रधानमन्त्री बालेन्द्र शाह


  • बुधबार, असार ३१ २०८३
  • 70
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रको दिगो विकास तथा प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा काम अघि बढाएको बताएका छन्। उनले पर्यटन उद्योगसँग सम्बन्धित नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकास यात्राको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए। होटल व्यवसायीका जायज चासो र सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्ने उल्लेख गर्दै उनले व्यवसायीलाई प्रचलित कानुनको पालना गर्दै आफ्नो व्यावसायिक दायित्व निर्वाह गर्न आग्रह गरे।

    प्रधानमन्त्री शाहले साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पर्यटन पूर्वाधार र सेवाको विस्तार गर्न सकिने सम्भावनाबारे अध्ययन गर्न हानका पदाधिकारीलाई सुझाव दिए।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा प्रदान गर्न सक्षम रहेको जानकारी गराउँदै हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गरे। पर्यटक आगमन वृद्धि गर्न सके आन्तरिक रोजगारीमा उल्लेखनीय वृद्धि हुने र नेपाली युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न होटल उद्योगले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।

    छलफलका क्रममा हानले नेपालमा आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ तथा क्रस–बोर्डर पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि विभिन्न नीतिगत सुधार आवश्यक रहेको धारणा राख्यो।

    हानले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन, २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय अध्ययनको सीमा ५० शय्यासम्म कायम गर्न, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन तथा नेपाल एयरलाइन्सको सेवा सुदृढ गर्न सरकारसमक्ष आग्रह गरेको छ।

    त्यसैगरी, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगसम्बन्धी रोयल्टीको व्यवस्थामा पुनरावलोकन गर्न, होटल व्यवसायसँग सम्बन्धित कानुनी व्यवस्था समयानुकूल संशोधन गर्न, डेस्टिनेसन वेडिङका लागि गरगहना आयात प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटन प्रवर्द्धनका लागि ‘फुल स्टोरी टेलिङ’ अवधारणासहित अन्तर्राष्ट्रिय स्तरको प्रचार–प्रसार र विज्ञ परिचालनको व्यवस्था गर्न पनि हानले सरकारसँग अनुरोध गरेको छ।

    छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page