गोरखा — समयमै मनसुन सक्रिय भएसँगै गोरखामा यस वर्ष बर्खे धानको रोपाइँ तीव्र गतिमा भइरहेको छ। कृषि विकास कार्यालय गोरखाका अनुसार हालसम्म जिल्लाभर करिब ५८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
यो सिजनमा जिल्लाका करिब १० हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिने लक्ष्य रहेको छ। कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४०–४५ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो। यस वर्ष समयमै मनसुन भित्रिएकाले रोपाइँले तीव्रता पाएको उनले बताए।
“मौसमले साथ दिइरहे जिल्लाभरको रोपाइँ केही दिनभित्रै सम्पन्न हुने अपेक्षा गरेका छौं,” भट्टराईले भने।
पर्याप्त वर्षा भएकाले यस वर्ष किसानले सिँचाइको समस्या भोग्न नपरेको कार्यालयले जनाएको छ। गत वर्ष वर्षा अभावका कारण जिल्लाभर करिब ८५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। विशेषगरी सहिदलखन र भीमसेनथापा गाउँपालिकाका किसानहरू प्रभावित भएका थिए।
यस वर्ष भने पर्याप्त वर्षासँगै सिँचाइको सहज उपलब्धताले धान उत्पादन बढ्ने कृषि प्राविधिकहरूको अनुमान छ। उनीहरूले जिल्लाभर ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने प्रक्षेपण गरेका छन्।
गोरखामा रामधान, सावित्री, सुख्खा–२ लगायतका उन्नत जातका धान तथा च्याम्पियन र युएस–३१२ जस्ता हाइब्रिड जातका धान रोपिएको छ। केही स्थानमा स्थानीय जातका धान पनि लगाइएको कृषि विकास कार्यालयले जनाएको छ।
जिल्लाको दरौँदी फाँट, सिर्दी फाँट, शेरा फाँट, ज्यादुल फाँट, टारी फाँट, दर्बुङ फाँट र बोर्लाङ फाँट धान उत्पादनका प्रमुख क्षेत्र हुन्। भने, उत्तरी गोरखाका उच्च हिमाली भूभागमा पर्ने धार्चे र चुमनुब्री गाउँपालिकामा धान खेती हुँदैन।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम