गोरखा — समयमै मनसुन सक्रिय भएसँगै गोरखामा यस वर्ष बर्खे धानको रोपाइँ तीव्र गतिमा भइरहेको छ। कृषि विकास कार्यालय गोरखाका अनुसार हालसम्म जिल्लाभर करिब ५८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
यो सिजनमा जिल्लाका करिब १० हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिने लक्ष्य रहेको छ। कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४०–४५ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो। यस वर्ष समयमै मनसुन भित्रिएकाले रोपाइँले तीव्रता पाएको उनले बताए।
“मौसमले साथ दिइरहे जिल्लाभरको रोपाइँ केही दिनभित्रै सम्पन्न हुने अपेक्षा गरेका छौं,” भट्टराईले भने।
पर्याप्त वर्षा भएकाले यस वर्ष किसानले सिँचाइको समस्या भोग्न नपरेको कार्यालयले जनाएको छ। गत वर्ष वर्षा अभावका कारण जिल्लाभर करिब ८५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। विशेषगरी सहिदलखन र भीमसेनथापा गाउँपालिकाका किसानहरू प्रभावित भएका थिए।
यस वर्ष भने पर्याप्त वर्षासँगै सिँचाइको सहज उपलब्धताले धान उत्पादन बढ्ने कृषि प्राविधिकहरूको अनुमान छ। उनीहरूले जिल्लाभर ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने प्रक्षेपण गरेका छन्।
गोरखामा रामधान, सावित्री, सुख्खा–२ लगायतका उन्नत जातका धान तथा च्याम्पियन र युएस–३१२ जस्ता हाइब्रिड जातका धान रोपिएको छ। केही स्थानमा स्थानीय जातका धान पनि लगाइएको कृषि विकास कार्यालयले जनाएको छ।
जिल्लाको दरौँदी फाँट, सिर्दी फाँट, शेरा फाँट, ज्यादुल फाँट, टारी फाँट, दर्बुङ फाँट र बोर्लाङ फाँट धान उत्पादनका प्रमुख क्षेत्र हुन्। भने, उत्तरी गोरखाका उच्च हिमाली भूभागमा पर्ने धार्चे र चुमनुब्री गाउँपालिकामा धान खेती हुँदैन।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण