गोरखा — गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने दरौँदी खोलामाथिको मोटरेबल पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गोरखाको नयाँसाँघु–नारेश्वर–गोरखा सडकअन्तर्गत निर्माण सम्पन्न पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन्।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण गरिएको पुल सञ्चालनमा आएपछि गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका तथा बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाका नागरिकको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
विशेषगरी जिल्ला सदरमुकाम गोरखा र काठमाडौं आवतजावत गर्ने स्थानीयले अब वर्षायाममा पनि सुरक्षित र सहज यात्रा गर्न सक्नेछन्। पुल सञ्चालनमा आएपछि कृषि उपज बजारसम्म पुर्याउन, स्वास्थ्य तथा शिक्षा सेवामा पहुँच विस्तार गर्न र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन गर्न समेत टेवा पुग्ने विश्वास गरिएको छ।
पूर्वाधार विकास कार्यालय गोरखाका अनुसार पुल निर्माणका लागि २०७८ असार ६ गते एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिसँग १५ करोड ६० लाख ८३ हजार २४९ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८२ असार ६ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न प्राविधिक तथा निर्माणसम्बन्धी कारणले निर्धारित समयभन्दा करिब छ महिना ढिलो गरी २०८२ मंसिर २९ गते निर्माण सम्पन्न भएको हो।
स्टिल ट्रस प्रविधिबाट निर्माण गरिएको पुलको लम्बाइ ७८ मिटर र चौडाइ ८.४ मिटर रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
गण्डकी प्रदेश सरकारका अनुसार ग्रामीण सडक सञ्जाललाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यअनुसार प्रदेशका विभिन्न स्थानमा पुल तथा सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। दरौँदी खोलामाथिको यो पुल पनि त्यसैअन्तर्गत निर्माण गरिएको महत्वपूर्ण पूर्वाधार आयोजना हो।
स्थानीयवासीले पुल सञ्चालनमा आएसँगै वर्षौंदेखिको सहज आवागमनको अपेक्षा पूरा भएको बताएका छन्। पुलले गोरखाको पूर्वी भेगका बासिन्दाको दैनिकीसँगै स्थानीय व्यापार, कृषि र सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम