काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले देशभर जलन (बर्न) उपचार तथा मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय र पहुँचयोग्य बनाउन आवश्यक समन्वय र कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएकी छन्।
नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक गर्दै मन्त्री मेहताले जलन उपचार र मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती तथा सुधारका उपायबारे समीक्षा गरेकी हुन्।
बैठकमा प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था, उपलब्ध स्रोत–साधन, जनशक्ति तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए। छलफलका क्रममा देशभर जलन उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, तालिम, पूर्वाधार, उपकरण, औषधिलगायत स्रोत–साधनको प्रदेशगत विस्तृत नक्साङ्कन (म्यापिङ) गरी सोही आधारमा कार्ययोजना कार्यान्वयन गर्ने सहमति भएको छ।
यस्तै, स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउने निर्णय पनि बैठकले गरेको छ। अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई मनोसामाजिक परामर्श सेवाबारे प्रभावकारी जानकारी उपलब्ध गराउने र आवश्यक परामर्श सहज रूपमा प्राप्त हुने व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको थियो।
मन्त्री मेहताले जलन उपचार र मानसिक स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधारलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सबै प्रदेशमा सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक समन्वय तथा कार्यान्वयनलाई तीव्रता दिइने बताइन्। साथै, स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो।
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग