गोरखा, साउन २५ — धार्चे गाउँपालिका वडा नम्बर ३ अन्तर्गत खोर्ला बेसीमा निर्माण सम्पन्न भएको बेलिब्रिज पुलको उद्घाटन तथा समापन समारोह आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
समारोहको अध्यक्षता वडा नम्बर ३ का अध्यक्ष श्री सेर बहादुर गुरुङले गर्नुभएको थियो भने पुलको संयुक्त रूपमा उद्घाटन गाउँपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङ, उपाध्यक्ष श्रीमती सुनिला गुरुङ तथा टाइम्स इनर्जीका अध्यक्ष श्री हिमप्रसाद पाठकले गर्नुभएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “यो पुलले केवल भौतिक संरचना मात्रै होइन, स्थानीय विकास र आपसी सम्बन्धलाई जोड्ने माध्यम पनि बनेको छ।”
उपाध्यक्ष सुनिला गुरुङले स्थानीयस्तरमा यस्ता पूर्वाधारले जनताको दैनिक जीवनमा ठुलो परिवर्तन ल्याउने बताउँदै भनिन्, “अब हामीलाई आवत–जावतमा सहजता त आउनेछ नै, आर्थिक क्रियाकलापमा पनि गति थपिनेछ।”
पुल निर्माणमा सहयोग पुर्याएको टाइम्स इनर्जीका अध्यक्ष हिमप्रसाद पाठकले यस्तो अवसरमा हातेमालो गर्न पाउनु आफैँमा गौरवको विषय भएको बताउँदै भन्नुभयो, “स्थानीय विकासमा प्रविधि र स्रोतको सही प्रयोग गरिन सके, छोटो समयमा ठूलो परिणाम देखाउन सकिन्छ भन्ने उदाहरण हो यो पुल।”
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्था तथा सरोकारवालाका प्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारीहरू र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पुल निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग काठमाडौंस्थित टाइम्स इनर्जीबाट प्राप्त भएको हो भने धार्चे गाउँपालिकाले समन्वय र सहजीकरणको भूमिका निर्वाह गरेको जनाएको छ। करिब ४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो बेलिब्रिज करिब ३६ मिटर (१२० फिट) लामो छ।
पुल सञ्चालनमा आएसँगै छिमेकी चुमनुब्री गाउँपालिकासँगको आवत–जावत सहज हुने, व्यापार–व्यवसाय विस्तारमा सहयोग पुग्ने र आपतकालीन अवस्थाहरूमा द्रुत गतिमा सवारी–सञ्चार सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री