ललितपुर: जहाँ आजकल जन्मदिन भन्नासाथ होटल–रेस्टुरेन्ट, डिस्को, केक–कटिङ र फोटो–सेसनको भीड सम्झिन्छौँ, त्यही भीडबाट छुट्टिएर युवा व्यवसायी तथा समाजसेवी अनिष अधिकारीले हिजो आफ्नो जन्मदिनलाई एकदमै अनौठो, प्रेरणादायी र बबाल स्टाइलमा मनाए। अनावश्यक फजुल खर्चमा हजारौँ उडाउनुपर्ने जन्मदिनलाई उनले यसपालि मानवीय सेवाको उत्सवमा बदलिदिए।
अधिकारी हिजो ललितपुरको नक्खिबोटस्थित तुलसालय आश्रम पुगे, जहाँ ५० भन्दा बढी साना बालबालिका तथा १३ जना वृद्ध बुवा–आमा बस्दै आएका छन्। अभिभावकविहीन, घरबारविहीन तथा सहारा नभएकालाई आश्रय प्रदान गर्दै आएकी सरु सुवेदीले आफ्नै घरलाई आश्राममा रूपान्तरण गरेर, बालबालिका तथा वृद्धहरूको अभिभावक बनेर सेवा गर्दै आएकी छिन् । यिनै मानव–मन्दिरमा अनिष अधिकारी पुगे—जन्मदिनको केक होइन, मनभरिको प्रेम र समर्थन लिएर । उनले त्यही तुलसालय आश्रममा आफ्नो जन्मदिनको खुसी बाँडे।
अधिकारीले आश्रममा रहेका सबै बालबालिका र वृद्ध बुवा–आमाका लागि खसीको मासु–भातको विशेष भोजन व्यवस्था गरे। जन्मदिनमा हुने सामान्य खर्च कटाएर उनले समान रूपमा खुशी र माया वितरण गर्नुलाई ठूलो उपलब्धि माने। विशेष भोजनका अतिरिक्त उनले आश्रमका सबै सदस्यहरूलाई जाडो मौसमका लागि एक सेट ट्राउजर र हाईनेक वितरण गरे। त्यसपछी उनले आश्रममा आवश्यक खाद्यान्न तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरे। उनले चिउरा, भुजा, चना केराउ, मिक्सदाल, बोडी, मकै/भटमास, आलु/प्याज, लसुन/अदुवा, जीरा धनिया, बेसार, खुर्सानी, नुन, सर्फ, साबुन (भाडामाज्ने,लुगाधुने), चाउचाउ, बिस्कुट, चिनी, चियापत्ती, डाइपर LSize, लेक्टोजिन, गार्वेज प्लास्टिक, दाह्री/ कपाल काट्ने मेसिन, नङकट र कैंची आश्रमलाई हस्तान्तरण गरे ।
यत्ति सब गर्न पाएपछि अधिकारीले भने: “यस्तो खुशी त पैसाले किन्नै सकिँदैन। जन्मदिनमा समाजलाई केही दिन पाएँ, यही हो मेरो वास्तविक सेलिब्रेशन।”
अनिष अधिकारीको जन्मदिनमा आश्रमका बालबालिका र वृद्धहरूको अनुहारमा देखिएको चमकले जन्मदिनको वास्तविक अर्थ नै बदलिदियो— उनी भन्छन्, “आउँदा दिनहरूमा पनि यस्तै सामाजिक कर्ममा जोडिँदै अघि बढ्छु। जन्मदिन खर्च गरेर होइन, समाजलाई केही दिएर मनाउँदा बेग्लै आनन्द आउँछ।”
आश्रममा बसेर समाजका विपन्न, असहाय र अभिभावकविहीनहरूसँग समय बिताउन पाउनु आफ्नै लागि ठूलो प्रेरणा भएको अधिकारीले बताए। अधिकारीले सबैलाई जन्मदिन वा विशेष अवसरहरूमा फजुल खर्च कम गर्दै सामाजिक कर्ममा जोडिन आग्रह गरे।